CANDOR

A worldview by a candid mind >>>

किन दिने एनआरएनहरुलाई दोहोरो नागरिकता ?

Posted by Thaneshwar on अप्रील 22, 2012

{प्रवासी नेपालीले विदेशमा रहंदा कमाएको सम्पत्तिको निश्चित प्रतिशत आयकर नेपालमा तिरेको अवस्थामा मात्र ‘विशेष कदर स्वरुप’ विदेशि नागरिकता लिदां पनि नेपाली नागरिकता कायमै राख्न पाउने व्यवस्था गर्नु उचित}

एनआरएन अभियान संसार भरि छरिएर रहेका नेपाली समुदायलाई एकिकृत गर्दै उनिहरुको ज्ञान-शिप, दक्षता, र लगानीलाइ नेपालको हितमा उपयोग गर्ने उद्देस्यका साथ शुरु भएको हो। साथै नेपाली कला र संस्कृतिलाई संरक्षण र संवर्द्दन गर्ने पवित्र उद्देश्य पनि हो। विश्वव्यापिकरणको प्रभावले अध्ययन र रोजगारिको शिलशिलामा प्रवासि बन्न गएका नेपालीहरुलाइ संगठित गर्ने आवस्यकता पनि हो। तसर्थ नेपालमा हुर्कि वढि, एक तहको शिक्षा नेपालमै लिइ विदेशिएका प्रवासी र गैर-आवासिय नेपालीलाई आफु जन्मे हुर्केको देश प्रतिको कर्तव्य निर्वाहा गर्न अभिप्रेरित गर्ने राम्रो अभियान पनि हो गैर आवासिय नेपाली संघको स्थापना।

एनआरएन को संजाल संसारका धेरै देशहरुमा फैलिसकेको वर्तमान अवस्थामा यसका क्रियाकलाप र अभियानलाइ हेर्ने हो भने कतै यसको स्थापनाको भित्रि उद्देश्य अरु नै केहि त थिएन भन्ने शंका उत्पन्न गराएको छ। अर्थात एनआरएन आफ्नो उद्देश्यबाट विमुख भएको भान हुन्छ। कर्तव्यमुखि अभियानका लागि स्थापित एनआरएन राजनैतिक र जातिय पकड जमाउनको लागि नेतृत्वको होडवाजि, र आफ्नो स्व-इच्छाले त्यागेको नेपाली नागरिकता फिर्ता गर्ने वा जोगाउने कथित अधिकारमुखि लडाइमा फसेको छ।

गैर-आवासिय नेपालीहरुलाई नेपाली परिचयको आवस्यकता कसैले इन्कार गर्न सक्दैन तर अहिलेको अवस्थामा नागरिकताको सवाल कुनै पनि अर्थमा उचित र मान्य हुनै सक्दैन र नैतिकताले पनि दोहोरो नागरिकता माग्न दिंदैन एनआरएनहरुलाइ किनकि,

१-नेपालमा हुर्कि बढि एक तह सम्मको शिक्षा नेपालमै आर्जन गरि सकेका तर अवसरको खोजिमा विदेशिएका गैर-आवासिय नेपाली मध्यका बहुसंख्यकले आर्थिक लाभको लागि विदेशि नागरिकता लिंदा नेपाली नागरिकता त्यागेका हुन। उनिहरुले आफ्नो स्वार्थको लागी नेपाली नागरिकता त्यागिसके पछि फेरि त्यहि परित्यक्ता नागरिकताका लागी किन रुने? जिविकोपार्जन गर्न धौ-धौ परेर कसैले पनि विदेशि नागरिकता ग्रहण गरेका हुंदैनन। विदेशमै जन्मिएका बाल-बच्चा भने यसका अपवाद हुन।

२-कर्तव्यमुखि अभियानमा लागेको एनआरएनले किन दोहोरो नागरिकताको लडाइलाइ आफ्नो प्रुमुख एजेण्डा बनाइराखेको? गैर-आवासिय संघले नेपालको वेथिति, र गरिविको दोष नेताहरुलाइ मात्र थुपारेर आफु किन पन्छिन खोजेको? सांच्चै नेपालको विकासमा टेवा पुर्यान चाहाने हो भने गैर आवासिय संघले नेपाल विकास कोषको स्थापना गरि आफ्नो कमाइको कम्तिमा १% रकम देशको नाममा प्रदान गर्ने अभियान चालौं न? हरेक देशमा स्थापना भएका गैर-आवासिय संघले आफ्नो कार्यकालमा कम्तिमा एउटा मेगा प्रोजेक्ट संचलान गर्नै नियमको शुरुवात किन नगर्ने? अनि बल्ल सारा नेपालीले भन्ने छन ‘अवसरको खोजिमा विदेशियका हाम्रा दाजु-भाइ, दिदि बहिनिहरुलाइ दोहोरो नागरिकता दिनै पर्छ।‘ विदेशमा १९-५२ प्रतिशत आम्दानी कर तिर्न सक्षम हामि प्रवासी नेपालीले देशको लागी आफ्नो कमाइको १% तिर्न किन नसक्ने?

३-नेपालमा अवसर नपाएर विदेशिनु परेको र विदेशवाट पठाएको रेमिटेन्सले देशको आर्थिक विकासमा सहयोग पुर्याएकोले पनि दोहोरो नागरिकता दिनु पर्छ भन्ने एनआरएनहरुको तर्कको कुनै तुक छैन। नेपाल भित्रिने रेमिटेन्सको कति प्रतिशत युरोप, अमेरिका र अष्ट्रेलिया बाट भित्रिन्छ होला ? तथ्यांक हेरौं त ! यदि अहिलेको अवस्थामा गैर-आवासिय नेपालीलाइ दोहोरो नागरिकता दिने हो भने ‘राष्ट्रियता र नागरिकताको कुनै महत्व हुने छैन। वास्तवमा भन्ने हो भन्ने कुनै पनि व्यक्ति केवल १ देशको मात्र नागरिक हुन सक्छ।

४-आर्थिक विकास एक चक्र जस्तै हो। यो संधै एक क्षेत्र वा देशमा मात्र स्थिर भएर रहने प्रकिया होइन। आर्थिक विकासका प्रचुर संभावना हुंदा हुंदै पनि भु-राजनैतिक प्रभाव, दशकौं लामो राजनैतिक अस्थिरता, ल एण्ड अर्डर एवं उचित आर्थिक नीतिका कारण पछाडि परेको हाम्रो मुलुक संधै यहि हालतमा पक्कै हुने छैन। सर्व प्रथमत नेपाल आफै सक्षम भएर देशमा उपलव्ध श्रोत र साधनको उच्चतम सदुपयोग गर्दै आगामि दशक भित्रै आर्थिक प्रगति गर्ने छ। साथै छिमेकि भारत र चिनको आर्थिक प्रगतिको पनि पक्कै पनि नेपालमा सकारात्मक प्रभाव पर्नेनै छ। तसर्थ १-२ दशक भित्रनै रोजगारि र अध्ययनका लागि युरोप अमेरिका तिर लाग्ने जमातको दिशा बदलिनेछ। तसर्थ यदि दोहोरो नागरिकता कायम गर्ने हो भने त्यो अवस्थमा दोहोरो नागरिकताधारीको भिड नेपालले थाम्न सक्ला ?

५-जव राष्ट्र समृद्द बन्छ तब मात्र सरकार नागरिकलाइ सामाजिक सेवा र सुरक्षा प्रदान गर्न सक्षम हुन्छ। विदेशि नागरिकता ग्रहण गर्ने नेपालीहरुको मुख्य उद्देश्य पनि विकसित देशको यहि सामाजिक सुरक्षाको व्यवस्थाले पनि हो । आशा गरौं दुई दशक भित्रमा नेपाल सरकार पनि बच्चा, वृद्द र असक्षमहरुलाइ सामाजिक सुरक्षा र विशेष आर्थिक सहुलियत प्रदान गर्ने सक्षम बन्नेछ । कल्पना गरौं आफ्नो जवानि सवै व्यक्तिगत लाभका लागि विदेशमानै बिताएको दोहोरोनागरिकताधारि नेपालीले त्यो समयमा विदेश रोज्छ छ कि नेपाल ? ल भन्नुहोस त बच्चा र युवा (विधार्थि अवस्था) अनि वृद्द अवस्थामा मात्र नेपाल विताउने यो जमातलाई देशको लगानी कति होला ? र त्यो लगानि किन गर्ने ?

६-राष्ट्र भनेको के हो? यो कुनै भुगोल मात्र होइन नत कुनै निश्चित भुगोलमा स्थापित सरकार मात्रै हो? राष्ट्र भनेको त कुनै एक निश्चित भुगोलमा स्थायि सरकारको नेतृत्वमा वसोवास गरेका स्थायी जनता हुन जसको साझा भाषा, संस्कृति र इतिहांस हुन्छ। तसर्थ जस्ले आर्थिक लाभको लागि अरु कुनै देशको नागरिकता ग्रहण गर्छ उस्को पुरानो नागरिकता किन कायम राख्नु पर्यो? अवसरवादी एनआरएनहरुलाइ दोहोरो नागरिकता दिएर देशलाइ के फाइदा?

७-नेपालले दोहोरो नागरिकता संवन्धि नीति अंगिकार गर्ने हो भने सर्व प्रथमत नेपाल-भारत-तिब्बत बिचको खुल्ला सिमानालाइ वैज्ञानिक रुपमा व्यवस्थित गर्नु पर्दछ। साथै नागरिकता संवन्धि वर्तमान विवादहरुलाइ समेत हल गर्नु पर्दछ ताकि कुनै पनि नेपाली नागरिक नागरिकता विहिन हुन नपरोस। साथै महत्वपूर्ण कुरा विगतमा वितरण गरिएका विवादित नेपाली-नागरिकताका केशहरुलाइ छानविन गरि गैर नेपालीले प्राप्त गरेका नागरिकता वदर गर्नु पर्दछ। तत्पश्चात मात्र विदेशि नागरिकता लिएर पनि नेपाली नागरिकता राख्न चाहाने गैर-आवासिय नेपालीहरुका लागि सरकारले नागरिकता ऐनमा दोहोरो नागरिकता संवन्धि विषेश प्रावधानको व्यवस्था गर्न सक्दछ। जस्तै प्रवासी नेपालीले विदेशमा रहंदा कमाएको सम्पत्तिको निश्चित प्रतिशत आयकर नेपालमा तिरेको अवस्थामा मात्र ‘विशेष कदर स्वरुप’ विदेशि नागरिकता लिदां पनि नेपाली नागरिकता कायमै राख्न पाउने व्यवस्था। यसका लागि कर तिरे नतिरेको अनुगमन गर्ने इलेक्ट्रोनिक्स संयन्त्रको राम्रो व्यवस्था गर्नु आवश्यक हुन्छ।

आर्थिक लाभका लागि आफ्नो नागरिकता परित्याग गर्ने समुहले राष्ट्रियताको संरक्षण गर्न सक्ला? साथै खुल्ला सिमानाका कारण तिव्वति र भारतियहरु बाट भैराखेको नेपाली नागरिकताको अपचलनको जानकारा हामीहरुले कल्पना गरौं त यदि नेपालले दोहोरो नागरिकताको नीति अंगिकार गर्यो भने त्यसले दीर्घकालिन रुपमा पार्ने असर कति भयंकर हुन सक्छ?
तसर्थ यदि नेपाली हुनुमा गर्व गर्छौं भने सर्व प्रथमत: आर्थिक लाभका लागि आफ्नो नागरिकता नत्यागौं। र यदि त्यागिसकेकाहरुले आफु जन्मे हुर्केको देश प्रतिको कर्तव्यवोध अनुभव गरि चाहे व्यक्तिगत होस वा संस्थागत देशको लागि योगदान गरौं। इमान्दार एनआरएनहरुले संधै नेताहरुलाइ मात्र गालि गर्ने तर तिनै नेताका अगाडि पर्दा चांहि धनुस्टंकार गर्ने बानि त्यागौं। देशको विकास र प्रगति गर्ने भनेको सरकारले होइन, जनताले हो र त्यो इमान्दार र कर्तव्यनिष्ठ जनताहरु बाट मात्र संभव हुन्छ।

यो लेख २०१२ अप्रिल १८ तारिख माइसंसारमा पनि प्रकाशित भएको थियो ।

टिप्पणी छोड्नुहोस्