CANDOR

A worldview by a candid mind >>>

मूल्य राजनीतिमा संकट

Posted by Thaneshwar on अगस्ट 30, 2009

 राजनीति सत्ताप्राप्ति, समाप्ति या तृप्तिका केही दाउपेचपूर्ण नीतिको समष्टि मात्रै होइन । लोकतन्त्र, जनवाद या समाजवाद खालि शासन प्रणालीका केही कानुनी सूत्रको मात्रै नाम होइन । नीतिहरूमध्ये पनि सर्वाधिक महत्त्वपूर्ण नीति ‘राजनीति’ले निश्चित मूल्य, मान्यता र मापदण्डको माग गर्छ । त्यसमाथि पनि समाज रूपान्तरणको निम्ति भनेर प्रतिपादन गरिएका लोकतान्त्रिक राजनीतिमा त मूल्यहरूको असाध्यै महत्त्वपूर्ण स्थान हुन्छ । मूल्यहरूको संघटन या विघटनले राजनीतिमा आकर्षण या विकर्षणलाई गुणात्मक स्वरूप प्रदान गर्छ । मूल्यविहीन राजनीति वस्तुतः कुर्चीको स्वार्थी खेलभन्दा बढी केही हुन सक्दैन ।

 

 प्रदीप ज्ञवाली

अध्यक्ष पुष्पकमल दाहाल उपस्थित एउटा प्रशिक्षण कार्यक्रममा माओवादी कलाकारहरूले नेतृत्वको आचरण र शैलीको तीखो आलोचना गर्दै अन्तर्राष्ट्रिय गीत गाउन अस्वीकार गरेको विषयमा केही दिनअगाडि प्रकाशित समाचारले धेरैको ध्यानाकर्षण गरेको हुनुपर्छ । विषय सानै भए पनि उक्त समाचारले एकीकृत माओवादीको आधारभूत पंक्तिमा हुकिर्ंदै गरेको मनोविज्ञानलाई अभिव्यक्त गर्छ ।

यो समाचारले एमालेभित्र विकृति-विसंगतिविरुद्ध विचारधारात्मक संघर्ष चर्किंदै गरेको वेला कलाकारहरूले गाउने गरेको ‘नेता अग्लो हुनुपर्ने महल अग्लो भयो’ बोलको गीतको सम्झनालाई ताजा बनाएको छ । त्यसरी नै ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पूर्वसन्ध्यामा आयोजित जुलुसमा एकजना कांग्रेसी युवाको अभिव्यक्तिलाई पनि स्मरण गराएको छ, जसले भनेका थिए- क्यामेराको लेन्समा पर्न जुलुसको अगाडि-अगाडि अरूलाई धक्याउँदै हिँड्ने कतिपय भ्रष्ट नेतालाई देख्दा आफैँलाई लाज लाग्छ । तर, के गर्नु, लोकतन्त्रको लडाइँ छाड्न पनि सकिँदैन । त्यसैले दाइ, उनीहरूसँग छोइनुपर्ला भनेर म त जुलुसको पुच्छारमा मात्रै हिँड्छु । नेपाली राजनीतिमा मूल्यहरूको विघटन र यसले आम कार्यकर्तापंक्तिमा हुकिर्ंदै गरेका विम्बका केही दृष्टान्त हुन् यी अभिव्यक्ति, यी घटना ।

राजनीति सत्ताप्राप्ति, समाप्ति या तृप्तिका केही दाउपेचपूर्ण नीतिको समष्टि मात्रै होइन । लोकतन्त्र, जनवाद या समाजवाद खालि शासन प्रणालीका केही कानुनी सूत्रको मात्रै नाम होइन । नीतिहरूमध्ये पनि सर्वाधिक महत्त्वपूर्ण नीति ‘राजनीति’ले निश्चित मूल्य, मान्यता र मापदण्डको माग गर्छ । त्यसमाथि पनि समाज रूपान्तरणको निम्ति भनेर प्रतिपादन गरिएका लोकतान्त्रिक राजनीतिमा त मूल्यहरूको असाध्यै महत्त्वपूर्ण स्थान हुन्छ । मूल्यहरूको संघटन या विघटनले राजनीतिमा आकर्षण या विकर्षणलाई गुणात्मक स्वरूप प्रदान गर्छ । मूल्यविहीन राजनीति वस्तुतः कुर्चीको स्वार्थी खेलभन्दा बढी केही हुन सक्दैन ।

सामन्तवादमा राजनीति मुठ्ठीभर कुलीनहरूको हातको वंशानुगत विशेषाधिकार थियो, त्यसैले त्यहाँ मूल्यहरूको कुनै अर्थ हुने कुरा भएन । तैपनि आप\mनो शासनलाई ‘परोपकारी’ र आफूहरूलाई ‘प्रजाहरूको हितचिन्तक’ प्रदर्शित गर्न सामन्ती राजाहरूले समेत कतिपय आदर्श स्थापित गरेका थिए । महाभारत, चाणक्य नीति या अन्य कतिपय संहितामा एउटा असल राजाका आदर्शको बारेमा लामो लालित्यपूर्ण व्याख्या गरिएको छ । यो बेग्लै विषय हो कि यो आदर्श दुनियाँको आँखामा छारो हाल्न मात्र प्रयोग हुन्थ्यो । सामान्यतयाः बुर्जुवाहरूलाई मूल्यहीन राजनीतिका अनुयायी ठानिन्छ । पुँजी नै सामाजिक र मानवीय सम्बन्धको मुख्य निर्णयकर्ता हुने पुँजीवादी व्यवस्थामा पुँजीबाहेक अन्य सबै कुरा भ्रम मात्र हुुनु स्वाभाविकै हो । तैपनि उनीहरूले समेत केही मूल्यको विकास गरेका छन् ।

गान्धीका आदर्श र उनले विकास गरेका मूल्यले भारतीय समाजलाई आजसम्म पनि गहिरो गरी प्रभावित गरिरहेको छ । राजनीतिमा उनका सबै मान्यता सही छन् भन्ने होइन, तर आप\mनो लक्ष्य प्राप्तिका लागि उनले विकास गरेका मान्यता र त्यससँग संगति हुनेगरी उनले विकास गरेको कार्यशैलीले धेरैलाई आकषिर्त गरेको छ ।

पछिल्लो समयमा दक्षिण अपि|mकी महानायक नेल्सन मण्डेलाले स्थापित गरेका मूल्य र आदर्शले विश्वमा नयाँ दृष्टान्त स्थापित गरेको छ । उनको सम्झौताहीन संघर्ष, शान्तिको निम्ति उनले प्रदर्शन गरेको अकल्पनीय लचकता र क्षमा, न्यायका लागि आप\mनै धर्मपत्नीलाई पनि कानुनको हवाला गर्न सक्ने उनको सत्यनिष्ठा अनि लोकपि्रयताको उत्कर्षमा हुँदाहुँदै नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्ने उनको त्यागले धेरैको हृदयलाई भित्रैसम्म झंकृत गरिदिएको छ ।

तर, नेपाली राजनीतिमा मूल्यहरूका डरलाग्दो खडेरी छ । ०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री पद अस्वीकार गरेर गणेशमान सिंहले एउटा दृष्टान्त स्थापित गर्न खोजेका थिए, पछि उनलाई कतिपय सन्दर्भमा विवादित तुल्याउने काम भयो र जीवनको अन्तिम क्षण उनले आफैँले जन्माए/हुर्काएको पार्टीकै नेताबाट अपमानित भएर पार्टीबाट बाहिरिँदै बिताउनुपर्‍यो । राजनीतिमा सृजनशीलता, मौलिकता, भनाइ र गराइमा संगति तथा लोकपि्रयताका आदर्श स्थापित गर्न मदन भण्डारी सफल भए, तर उनले युवा वयमै रहस्यमय हत्याबाट जीवन गुमाउनुपर्‍यो । मनमोहन अधिकारीले पनि सादगी र असल मानिसको एउटा दृष्टान्त स्थापित गरे र आप\mनो नैतिक बलसमेतको जोडमा कहिल्यै बिर्सन नसकिने सरकारको अगुवाइ गरे, तर उनको शेषपछि उनको पार्टीले त्यसलाई पछ्याइरहन सकेन । गणेशमानको आदर्श त आज ‘अघि बढ सुजाता ज्यान दिन तयार छौँ’ जस्ता भीडतन्त्र र वंशवादमा पुगेर अवसान भएको छ ।

राजनीतिमा सत्ता सहज र स्वाभाविक विषय हो । सत्तामा जानैहुँदैन भन्ने शुद्धतावादले हामीलाई समस्याको व्याख्या गर्ने व्याख्याता या उपदेशक त बनाउला, तर आगो निभाउने ‘फायर फाइटर’ बनाउँदैन । तर, सत्ता आफैँमा अभीष्ट हुन सक्दैन राजनीतिको । आप\mना मान्यता स्थापित हुन नसक्ने स्थितिमा पनि सत्ताको निम्ति गरिने मरिहत्ते र सत्ताका लागि जस्तोसुकै शक्तिसँग हात मिलाउने कुरा कदापि नैतिक हुन सक्दैन । तर, हिजो संसदीयकालमा एमाले या कांग्रेसले एक-अर्कालाई पछार्न गरेका अपवित्र गठबन्धनले उनीहरूलाई निरन्तर कमजोर गर्दै दरबारलाई सत्ता हत्याउन सघाएको तथ्य ताजै छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैन भन्ने भद्दा अवसरवादको अनुसरणको निकै महँगो मूल्य ती पार्टीले विगतमा चुकाउनुपर्‍यो । दुर्भाग्यवश, आज माओवादी विगतमा एमाले र कांग्रेसले गरेका तिनै गल्ती दोहोर्‍याउँदै छ । पार्टी विस्तारको नाममा आज उसले आप\mनो पंक्तिमा हुलिरहेका पूर्वमण्डलेहरू देख्दा र सत्ता पुनप्राप्तिको निम्ति मधेसका हिंसात्मक समूहसँग समेत उसले हात बढाएको देख्दा माओवादीको निम्ति ‘सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने निष्कर्षमा सहजै पुग्न सकिन्छ । अनि कसरी होला मूल्य-

राजनीतिको विकास ?

सत्ताले भ्रष्ट गर्छ भन्ने कुरा शाश्वत सत्य होइन । हो ची मिन्ह धेरै वर्ष सत्तामा बसे, तर कम्युनिस्टविरोधीहरूसमेत उनलाई आदर्श ठान्छन् । नेपालमै पनि सत्ताबाट बाहिरिँदा मनमोहनको श्वेत वस्त्रमा कुनै दाग लागेको थिएन । तर, सत्तालाई सामाजिक रूपान्तरणको साधन होइन, आप\mनो विगतको ‘त्याग’ र ‘लगानी’को पुरस्कार ठान्दा धेरैलाई यसले ‘नायक’बाट खलनायकमा स्खलन गरिदिएको छ । कुनै वेला शासकहरूको यातनाबाट झन्डै सहिद हुन पुगेकाहरू केही वर्ष सत्तामा बसेपछि रूमालले मुख छोप्दै अख्तियार धाउनुपरेको दृश्य समकालीन नेपालको सबैभन्दा कुरूप दृश्य हो । तर, यसबाट पर्याप्त पाठ नेपाली राजनीतिकर्मीहरूले सिकेको देखिँदैन । त्यसैले मूल्यहरूको निरन्तर अवसान भइरहेको छ र युवापुस्ता राजनीतिलाई फोहोरी खेल भन्दै यसबाट टाढिँदै गएको छ ।

लोकतान्त्रिक पार्टीहरूले हिजो ठूलो गल्ती गरे र त्यसको मूल्य चुकाए पनि । यद्यपि, उनीहरूमा अझै पर्याप्त रूपान्तरण देखिएको छैन । तर, योभन्दा विडम्बनापूर्ण दृश्य देखिन थालेको छ माओवादीमा, जसले खुला राजनीतिमा पदार्पण गरेको तीन वर्ष मात्र भएको छ । तर, बिलासी जीवनशैली, ठेक्कापट्टा र जबर्जस्ती असुलीमा नयाँ कीर्तिमान, अपराध लुकाउन माओवादीमा ओत लाग्न खोज्नेलाई संरक्षण र स्वाभीमानीहरूलाई यातना, नातावाद तथा विधिको शासनको खुला उपहासले त्यसबाट आश गर्ने ठूलो पंक्तिलाई निराश तुल्याउँदै लगेको छ । दुर्गम पहाडका बाँदर लर्कने भीर-पाखालाई ‘पार्टीकरण’ गरेर काठमाडौंमा तीसौँ लाखका गाडी चढिन्छ भने ‘सर्वहाराकरण’ शब्दको योभन्दा ठूलो उपहास केही हुँदैन । वैधानिक राजनीतिमा आएको तीन वर्ष बित्न लाग्दासमेत युद्धकालमा प्रयोग गरिएका गाडीलाई विधिवत् दर्ता गरेर सरकारलाई कर तिर्ने न्यूनतम दायित्व पनि तपाईं पूरा गर्नुहुन्न र अवैध गाडीले सर्वसाधारणलाई हिलो छ्याप्दै र हतियारको अनधिकृत प्रदर्शन गर्दै जनता तर्साउनुहुन्छ भने ‘म कर तिर्न चाहन्छु, कहाँ, कसरी र कति तिर्नुपर्ने हो, जानकारी पाउ“m’ भनी पत्र लेख्ने ज्ञानेन्द्र शाहको विरोध गर्ने नैतिक धरातल तपाईंसँग कसरी रहन्छ ?

नैतिक मूल्यहरूको विघटन, आदर्शहरूको स्खलन र सत्ताप्राप्ति र तृप्तिको खेलले नेपाली राजनीतिलाई निरन्तर प्रदूषित गर्दै लगिरहेको छ र यसले पार्टी तथा नेताहरूको प्रतिष्ठा, भूमिका तथा स्थानलाई निरन्तर संकुचित पार्दै लगेको छ । तर, सबैभन्दा दुखद् पाटो के छ भने जसले यो सच्चाइ अनुभूत गर्नुपर्ने हो उनीहरू यसप्रति संवेदनहीन बन्दै गइरहेका छन् ।

Courtesy: NayaPatrika, 27-08-2009

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: