CANDOR

A worldview by a candid mind >>>

लोकतान्त्रिक पार्टी कि कोइराला प्रालि ?

Posted by Thaneshwar on जुन 5, 2009

गेजा शर्मा वाग्ले

सोनिया गान्धीको त्याग, मनमोहन सिंहको छवि र राहुल गान्धीको दृष्टिकोणका कारणले भारतीय राष्ट्रिय कंग्रेसले अनपेक्षित विजय हासिल गरेको बहस भइरहेको समयमा आफूलाई भारतको गान्धी परिवारसँग तुलना गर्ने कोइराला परिवारको कारणले कांग्रेस भने अधोगतितर्फ उन्मुख हुने देखिएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुपुत्री सुजातालाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेपछि यस्तो कठोर विश्लेषण थुप्रै कोणबाट आएको हो । भारतीय कंग्रेसलाई पनि कांग्रेसलाई जस्तै वंशवादको आरोप लाग्दै आएको थियो । तर उक्त आरोप मेटाउन सोनियाले प्रारम्भमा सक्रिय राजनीतिमा प्रवेश गर्न अस्वीकार गरिन् । योग्य नेतृत्वको अभावमा पार्टी कमजोर तथा विभाजित भएपछि थुप्रै कंग्रेस नेताहरूले अनुरोध गरेपछि उनी नेतृत्व लिन तयार भएकी थिइन् । नेतृत्व लिएपछि सम्पूर्ण ध्यान उनले संगठन सुधारमा लगाइन् । उनकै नेतृत्व क्षमता र संगठनको कारणले सन् २००४ को निर्वाचनमा कंग्रेस संसद्मा सबैभन्दा ठूलो दलको रूपमा स्थापित भयो । उनलाई प्रधानमन्त्री बनाउने सर्वसम्मत निर्णय संसदीय दलले गर्‍यो । तर विदेशीमूलकी आफू प्रधानमन्त्री भएमा भारतीय समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखी उनले प्रधानमन्त्री नबन्ने निर्णय गरिन् र अल्पसंख्यक शिख समुदायका स्वच्छ छविका मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन् । सत्ता त्याग गरेपछि भारतीय मिडियाले उनलाई ‘कलियुगकी सीता’ को उपमा समेत दिएका थिए । युवा राहुलको दृष्टिकोण र क्रियाशीलताले पनि कंग्रेसको पुनर्जीवनमा विशिष्ट योगदान गर्‍यो । वास्तवमा अहिलेको विजयको श्रेय सञ्चारमाध्यमले राहुललाई दिएका छन् । उनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरी निर्वाचनमा जानुपर्ने प्रस्ताव कंग्रेसकै वरिष्ठ नेताहरूबाट आएको थियो । तर, उक्त प्रस्तावलाई न सोनियाले समर्थन गरिन् न त राहुलले स्वीकार गरे । सोनियाले भावी प्रधानमन्त्री पनि सिंह नै भएको घोषणा गरिन् भने राहुलले सिंह आफ्नो राजनीतिक गुरु भएको भन्दै उनी नै प्रधानमन्त्री हुने घोषणा गरे । निर्वाचनमा विजय हासिल हुनुको श्रेय राहुललाई दिँदै सिंहले राहुललाई मन्त्रीका लागि प्रस्ताव गरे । तर उनले मन्त्री पद पनि अस्वीकार गरी पार्टीमा काम गर्ने जवाफ दिए । भारतमा सोनिया र राहुलको त्यागबाट कंग्रेस सशक्त र लोकपि्रय पार्टीको रूपमा स्थापित भयो र परिवारवादको आरोपबाट मुक्ति पायो । तर नेपालमा भने कोइरालाको वंशवाद र पुत्रीमोहले कांग्रेस कमजोर र अलोकपि्रय मात्रै बन्दै गएको छैन्, पारिवारिक पार्टीको रूपमा रूपान्तरण हुने दिशातर्फ अभिमुख छ । त्यसैले कांग्रेस लोकतान्त्रिक पार्टी हो कि कोइरालाको प्राइभेट लिमिटेड भन्ने बारेमा गम्भीर बहस प्रारम्भ भएको छ । छ दशकभन्दा लामो समय निरंकुश राजतन्त्रको अन्त्य गरी लोकतन्त्र, जनताको सर्वोच्चता र कानुनी राज्यका लागि संघर्ष गरेको पार्टी र नेता कोइरालाप्रति यस्तो कठोर टिप्पणी आग्रहपूर्ण र अतिरञ्जित पनि लाग्नसक्छ । तर, जुन समय र पृष्ठभूमिमा कोइरालाले जुन रणनीतिका साथ छोरीलाई सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर पठाउने विवादास्पद निर्णय गरेका छन्, उक्त रणनीति र समयको सापेक्षतामा वस्तुनिष्ठ विश्लेषण गर्दा यस्तै कटु निष्कर्षमा पुगिन्छ । प्रश्न केवल सुजाताको मात्रै होइन, प्रश्न नेतृत्व हस्तान्तरणको हो । ८६ वर्षीय वृद्ध कोइरालामा उमेर, स्वास्थ्य र विधान तीनवटै कारणले नेतृत्व हस्तान्तरण गर्नैपर्ने घडी आएको छ । आगामी अधिवेशनबाट अनिवार्य रूपमा नेतृत्व हस्तान्तरण गर्नु पर्ने वैधानिक प्रावधान छ । किनभने कांग्रेसको विधानअनुसार कोही पनि व्यक्ति तेस्रो कार्यकाल सभापति हुन सक्दैन । कोइराला विधानको अपव्याख्या गरी विगतमा तेस्रो कार्यकाल पनि सभापति भइसकेका छन् । यदि लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्वको छनोट भयो भने नेतृत्व कोइराला परिवारभन्दा बाहिर जाने निश्चित छ । तर कोइराला पार्टीको नेतृत्व परिवारभन्दा बाहिर जाओस् भन्ने चाहँदैनन् । अहिलेको विवादास्पद निर्णयले कोइरालाको उद्देश्य स्पष्ट भएको छ, उनी कोइराला परिवार पनि होइन्, नेतृत्व छोरी सुजातालाई नै हस्तान्तरण गर्न चाहन्छन् । महाधिवेशनभन्दा अगाडि नै छोरीलाई स्थापित गर्ने उद्देश्यले अहिले उनैको नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउन चाहेको देखिन्छ । यदि उनको नेतृत्वमा सरकारमा पठाएमा उनी नेताका रूपमा स्थापित हुने र आगामी महाधिवेशनबाट सभापति बनाउन सकिने विश्लेषण कोइरालाको हुनसक्छ । त्यसैले उनले जीवनभरिको राजनीतिक प्रतिष्ठालाई दाउमा राखेर सुजाताको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने जोखिमपूर्ण र विवादास्पद निर्णय गरेका हुन् । यो निर्णय विवादास्पद हुन्छ र पार्टी पंक्तिबाटै चुनौती दिनेछन् भन्ने आंकलन कोइरालालाई नभएको होइन । तर, उनले छोरीका लागि यस्तो जोखिम उठाउन तयार भए । कोइरालाका विवादास्पद निर्णयहरू र पुत्री प्रेमको विश्लेषण गर्दा उनले कलियुगका धृतराष्ट्र बन्ने जोखिम उठाएको पुष्टि हुन्छ । पूर्वीय दर्शनअनुसार बुढेसकालमा पुत्र/पुत्री मोह स्वाभाविक मानिन्छ र पैतृक सम्पत्तिमाथि सन्तानको अनतिक्रम्य अधिकारलाई सामाजिक मान्यता प्रदान गरिएको छ । ‘दाइजो’ र ‘पेवा’ सोही सामाजिक मान्यताका प्रतिफल हुन् । कोइरालाको पैतृक सम्पत्तिको एकमात्र हकदार सुजाता हुन् । उनले आफ्नो सम्पूर्ण सम्पत्ति छोरीलाई नामसारी गर्न सक्छन्, उनलाई दाइजो दिनसक्छन् र छोरीले पनि पेवाका रूपमा लिन सक्छिन् । कोइरालाले कांग्रेसलाई उनको पैतृक सम्पत्ति ठानेको र छोरीलाई नामसारी गरी दाइजो दिन चाहेजस्तो देखिन्छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो कि कोइरालाको प्रालि ? जनताको पार्टी हो कि कोइराला परिवारको पैतृक सम्पत्ति ? लोकतान्त्रिक पार्टी हो कि अर्काे राजतन्त्रात्मक पद्धति ? यस्ता यक्ष प्रश्नहरूको अहिले निर्णय गर्ने घडी आएको छ । कोइरालाले आत्मसात गर्नुपर्ने वास्तविकता के हो भने कांग्रेसका सभापति उनी नै हुन् तर कांग्रेस उनको पैतृक सम्पत्ति होइन्, न त कोइराला परिवारको प्रालि हो । त्यसैले उनले पैतृक सम्पत्ति जस्तै गरी कांग्रेसको नेतृत्व न सुजाताको नाममा नामसारी गर्न सक्छन्, न छोरीलाई सभापति र उपप्रधानमन्त्री पद दाइजो नै दिन सक्छन्, न त सभापति र उपप्रधानमन्त्री सुजाताको पेवा हो भन्न पाउँछन् । त्यसैले एक्काइसौं शताब्दी जस्तो लोकतन्त्र, विचार र सिद्धान्तको युगमा न वरिष्ठता, मर्यादाक्रम, जाति र क्षेत्रको आधारमा नेतृत्व हस्तान्तरण हुन्छ, न त वंशज, कुल र गोत्रको आधारमा हुने सम्भावना नै छ । अहिलेको युगमा न ‘प्रार्थना’ गरेर नेतृत्व हासिल गर्न सकिन्छ, न ‘तथास्तु’ भनी वरदान दिएजस्तै हस्तान्तरण नै गर्न सकिन्छ । लोकतान्त्रिक पार्टीमा नेतृत्वको हस्तान्तरण विचार, सिद्धान्त र कार्यक्रमको आधारमा हुनुपर्छ । लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिक पार्टीको सिद्धान्त, मूल्य र मान्यताअनुरूप परिचालित हुनुपर्छ र लोकतन्त्रवादी नेता भएको दाबी गर्नेहरूले लोकतान्त्रिक पद्धति, कार्यशैली र निर्णय प्रक्रिया अनुसरण गर्नुपर्छ । संविधानसभा निर्वाचन सम्पन्न भएको १४ महिना बितिसक्यो तर अहिलेसम्म पनि कांग्रेस संसदीय दलको निर्वाचन भएको छैन । संसदीय दलको निर्वाचन नै नभई आफूलाई दलको नेता भएको घोषणा गरेका छन् र प्रतिपक्षी दलको नेताको सुविधा लिइरहेका छन् । यदि दलको नेता नै हुने हो भने वैधानिक प्रक्रियाबाट भएको भए पनि हुन्थ्यो । यो भन्दा अलोकतान्त्रिक र स्वैच्छाचारी प्रवृत्ति अरू के हुनसक्छ ? कोइरालाको यस्तो निर्णय र प्रवृत्तिले कांग्रेस र लोकतन्त्रकै उपहास भएको छ । अर्काेतिर आफ्नो सभापतिको कार्यकाल दुईपटक थपिसके पनि महाधिवेशन गराउने संकेतसम्म देखिएको छैन । महाधिवेशन र संसदीय दलको निर्वाचन भए उनी पुनः निर्वाचित हुने सम्भावना छैन । त्यसैले सुजातालाई हस्तान्तरण गर्न सक्ने अवस्था सिर्जना नभएसम्म महाधिवेशन नै नगर्ने सम्भावना देखिएको छ । उनी अहिले पनि न सभापति न संसदीय दलको नेतृत्व कुनै पनि पद हस्तान्तरण गर्न तयार छैनन् । छविको दृष्टिकोणले पनि उनी नेपाली राजनीतिमा सबभन्दा विवादास्पद पात्र हुन् । ०४८ मा पिता प्रधानमन्त्री भएपछि उनी पटकपटक आर्थिक र राजनीतिक विषयमा विवादमा आएकी थिइन् । उनकै विवादास्पद छवि र क्रियाकलापका कारण कोइरालाजस्तो लोकपि्रय नेता अलोकपि्रय र कमजोर हुने क्रम अद्यापि जारी छ । ०६२-६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भइसकेपछि पनि उनको विवादास्पद छवि कायमै छ । गणतन्त्र स्थापना भइसकेपछि पनि उनले पटकपटक राजतन्त्रको वकालत गरेकी थिइन् । प्रधानसेनापति प्रकरणमा पनि उनको भूमिका रहस्यमय थियो भने अन्तिमसम्म पनि आफ्नो नेतृत्वमा माओवादी सरकारमा जाने रणनीतिमा थिइन् । तर उनका सबै रणनीति असफल भएका थिए । कोइरालाको परिवार मोह, अलोकतान्त्रिक कार्यशैली र स्वैच्छाचारी प्रवृत्तिबारे अहिले मात्रै होइन्, ०४६ मा लोकतन्त्र स्थापना हुनासाथ प्रारम्भ भएको थियो । गणेशमान सिंहले कोइरालाको उक्त स्वैच्छाचारी प्रवृत्ति र परिवार मोहबारे बारम्बार आवाज उठाउँदै आएका थिए । कृष्णप्रसाद भट्टराईले पनि निरन्तर पार्टीभित्र संघर्ष गरिरहेका थिए । शेरबहादुर देउवाले सोही अभियोग लगाएर पार्टी विभाजन गरेका थिए । तर, सत्ताको प्रतापमा कोइरालाले उक्त आरोपहरूलाई निशस्त्र मात्रै गरेनन्, सिंह र भट्टराईजस्ता उच्च सम्मानित नेतालाई पार्टीबाट किनारा लगाउनसमेत सफल भए र पार्टीमा एकलौटी पकड जमाएका थिए । दूरदर्शी राजनेता बीपी कोइरालाले जीवनको अन्तिम घडीमा सक्रिय राजनीतिक जीवनबाट संन्यास लिनुभन्दा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामा सामूहिक नेतृत्व हस्तान्तरण गरेका थिए । बीपीको सामूहिक नेतृत्वको सूत्रको आधारमै कांग्रेस एकीकृत, संगठित र सशक्त भयो । उनको अवसानपछि पनि कांग्रेस कमजोर भएन, निर्णायक शक्तिका रूपमा स्थापित भइरह्यो । तर दाजु बीपीको आदर्श र मान्यता ठीकविपरीत कोइरालाले छोरी सुजातालाई एकल नेतृत्व हस्तान्तरण गर्न चाहेका छन् । बीपीको यसभन्दा ठूलो उपहास अरू के हुनसक्छ ? उक्त उपहास स्वयं उनकै भाइ कोइरालाले गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: