CANDOR

A worldview by a candid mind >>>

कांग्रेस पराजयपछिको बाटो

Posted by Thaneshwar on अप्रील 24, 2008

विश्वप्रकाश शर्मा

भन्छन्- छोरा बिग्रिए विवाहको जिम्मेवारीले बांध्नु, राजनीतिक दल बिग्रिए सत्ताको जिम्मेवारीले । माओवादी ‘समस्या’को अन्तिम समाधान सायद यसरी नै गर्न चाहे जनताले । त्रास, आश र निकास यी तीन भिन्न मनोवैज्ञानिक कोणबाट प्राप्त मतले माओवादीलाई विजेता बनाएको छ। चुनावमा दुब्लो गणित प्राप्त गरेर शान्ति प्रक्रियाबाट माओवादी बाहिरिने त होइन ? फरक विचारका मानिसमा पनि चुनावअघि यस्तो चिन्ता थियो । स्वाभाविक रूपमै त्यस्ता लाखौं चिन्ताबाट लाभ लियो उसले । जिते सत्ता, हारे नयां खाले क्रान्ति भन्ने धम्कीलाई विनम्रतापूर्वक पस्कियो । देशैभरि दबाबको वातावरण सिर्जना गर्न दार्चुला, रामेछाप, सोलु र रसुवाका घटना सम्पादन गर्‍यो । कब्जा साहित्यको व्यावहारिक अनुवादका लागि माओवादी पंक्ति युद्धमनोविज्ञानले मैदानमा क्रियाशील भयो ।  “यसपटक माओवादीलाई” भन्ने आश बेच्न, अलिकति विश्वास उमार्न र हिंसाबाट मुक्तिका लागि उसैलाई चाबी सुम्पनु नै निकास हो भन्ने मनोविज्ञान खडा गर्न ऊ सफल भयो । तर अनेकन प्रश्न बाबजुद मूलतः लोकतान्त्रिक अभ्यासबाट प्राप्त बहुमतका लागि व्रिद्रोही शक्तिलाई बधाई दिनैपर्छ । “सम्पूर्ण रूपले जिम्मेवार बन” भनी जनताले दिएको आदेश शिरोपर गर्न माओवादीलाई सफलता मिलोस्, शुभकामनामा सकारात्मक आग्रह गांस्नैपर्छ  ।माओवादीको जबर्जस्त आगमन निश्चय नै कांग्रेस-एमाले पराजयको एक प्रमुख कारण हो । तर आफ्नो पराजयलाई अरूका शिरमा थोपरिदिएर जिम्मेवार राजनीतिक शक्तिको कर्तव्य पूरा हुन्न । आफै भित्र आफ्ना अयोग्यता खोजेरमात्रै भविष्यको मार्ग सुगम तुल्याउन सकिनेछ ।

पराजयको समीक्षा

खेल हारेर मैदानबाट बाहिरिएको फुटबल टिममा एउटा आमप्रवृत्ति देखिने गर्छ- पराजयको अंश कारणलाई समग्र ठान्ने अनि एकले अर्कोलाई दोष पन्छाउने । राजनीतिको चित्र त झन् पराजयपछि उराठलाग्दो बनिदिन्छ । जस्तो कि यसबेला संविधानसभा निर्वाचनको पराजयमा स्वयम् व्यक्ति र पार्टीले समग्र कमजोरीलाई भन्दा अंश कारणहरूलाई हामी प्रधान ठहर्‍याइरहेका छौं । सबैले पराजयको गम्भीर समीक्षा चाहेका छन्, तर प्रायः सबैले आत्मगत विश्लेषणलाई पराजयको प्रमुख कारण ठानिरहेका छन् ।

शेरबहादुर देउवालाई सोधौं, उहांले भन्नुहुनेछ- माओवादीले सिर्जना गरेको भयबाट कांग्रेस हार्‍यो । सुशील कोइरालाले भयसंगै जातिवाद र सस्ता नारालाई दोष दिनुहुनेछ । रामचन्द्र पौडेलको ठहर के हुनसक्छ भने मबाहेक अरू कोही पनि आफ्नो क्षेत्र छोडेर अरूलाई सघाउन गएन, चुनाव प्रचारको संगठित अभियान नभएर कांग्रेस हार्‍यो । “नेतृत्वको असफलताले कांग्रेस पराजित भएको हो”, नरहरि आचार्यले मौकामा आफ्नो थेसिस यसरी पेस गरिसक्नुभएको छ । तर नेतृत्वमा रहेका केबी गुरुङ भन्नुहुन्छ, माओवादीलाई अलि बढी काखी च्यापेको परिणाम कांग्रेसले भोग्दैछ । गृह प्रशासनलाई दोष देखाउनुहुन्छ सुजाता कोइराला, के भनाइसाथ भने सुरक्षा राम्रो नहुंदा म हारें, कांग्रेस हार्‍यो । कृष्ण सिटौलाको जवाफ हुन्छ, गणतन्त्रमा जाने पार्टी निर्णयको विपक्षमा कतिपय नेताले बोलिदिएपछि जनताले हामीलाई कसरी विश्वास गर्छन् – उता साधु नेता शंकर पाण्डे कराइरहनुभाछ, भ्रष्ट अनुहारहरूलाई अघि लगाउन नछाडेपछि कांग्रेस नहारेर को हार्छ – यता गगन थापा र प्रदीप पौड्यालहरूको भनाइ छ, युवाहरूको अभिमतलाई नबुझ्दा, युवा उम्मेदवारीलाई विशेष प्राथमिकता नदिंदा कांग्रेस पछाडि पर्‍यो । अर्थात् आ-आफ्नै बुझाइ र ठम्याइहरू छन् । अपूरो भए पनि कतिपय वास्तविक छन्, तर कतिपय आत्मगत मात्र । आशा गरौं, सतही, आवेशपूण र एककोणीय ठहरबाट माथि उक्लिएर कांग्रेस केन्द्रीय समितिले पराजयको गम्भीर र वस्तुगत विश्लेषण गर्न सक्नेछ ।

शान्ति प्रक्रियामा कांग्रेसले निभाएको प्रमुख भूमिकालाई हामीले जनतासमक्ष बुझाउन सकेनौं । गणतन्त्रप्रति कांग्रेसको निष्ठा ढुलमुले छ भन्ने आशंका र प्रचारलाई हामीले चिर्न सकेनौं । कांग्रेसको उपल्लो पंक्तिमा विराजमान कतिपय नेता-नेतृले संवैधानिक राजतन्त्रको वकालत गरेर सुरुमै बजारको जो वातावरण बिगारे, त्यसबाट सबै उम्मेदवार प्रतिरक्षात्मक बन्न पुगे । नयां युगका लागि नवीन कांग्रेस भन्ने सोच, शैली र प्रवृत्ति विकास गर्न नसक्दा कांग्रेस यथास्थितिवादी हो भन्ने प्रहारलाई परास्त गर्न सकिएन । नयां राजनीतिक शक्तिहरू मैदानमा आएका बेला हामी पुरानै ढंग र पुरानै व्यक्तित्वहरूको अधिकतासाथ मैदानमा उत्रियौं । वास्तवमा कांग्रेसका पराजयपछि दर्जनौं कारण छन् । नेतृत्व तहमा पर्याप्त जातिगत सन्तुलनका बाबजुद अनेक जाति, भाषा, भेष र भूगोलले आफ्नो प्रतिविम्ब कांग्रेसमा देख्न सक्नेगरी विश्वास रोप्न सकेनौं हामीले । पछिल्लो मधेस आन्दोलन र अनेकन समूहको संर्घष कांग्रेसकै प्रमुख अग्रसरतामा सम्झौतामा पुगेको थियो, त्यसलाई पनि हामीले पुंजीकृत गर्न सकेनौं । चित्रहरूले प्रस्ट्याएका छन्, मध्यम वर्गमा रहेको हाम्रो प्रभाव घटेको छ र निम्न वर्गसंगको सम्बन्ध एकदमै कमजोर भएको छ । युवाहरू खासगरी नवमतदाताका नवीन आकांक्षालाई सम्बोधन गर्न नसक्नु र ठूला भनिएका दलमध्ये सबैभन्दा कम प्रतिशतमा युवा उम्मेदवार अघि सार्नु पनि कांग्रेसको कमजोरी सावित भएको छ । दृश्य बताउंछ, न पूर्व साथ रह्यो, न सुदूर पश्चिम । न तर्राईको विश्वास रह्यो, न पहाडको भरोसा । पार्टी एकीकरणको प्रक्रियालाई भावनात्मक स्वरूपमा बदल्न नसक्नु र स्थानीय तहमा दुइ-दुइवटा कमिटीको विचित्रतालाई जीवित राख्नु पनि पराजयका अनेकमध्ये एक सहायक कारण बन्न पुग्यो । न पार्टीका चुस्त कमिटी बने, नत भ्रातृ संस्थाहरूकै । भद्रगोल स्थितिमा चुनाव धान्ने कार्यमात्र भयो । स्वाभाविक छ, यस्तो स्थितिमा रहेको पार्टीले माओवादी त्रासबाट मतदातालाई भयमुक्त गराउन सक्ने कुरै थिएन । प्रमुख पार्टी,  सरकारको मुख्य नेतृत्वमा रहेको दलले नै निर्वाचनमा सुरक्षाको अनुभूति गराउन नसक्ने भएपछि मतदाताले आफ्नो सुरक्षासंग भोट नसाटेर कमजोर छाताको भरोसा कसरी गर्न सक्छन् ?

अबको यात्रा

पराजयको गम्भीर समीक्षा सांच्चै गम्भीर रूपमा हुनुपर्छ । सामान्य रगत जांचदेखि सिटिस्क्यानसम्म जरुरी छ । अस्पतालमा छ कांग्रेस, बाटा दुइमात्र छन्- सही उपचारबाट पुनःजीवन कि घाटतर्फ पूर्णविराम । मलाई लाग्छ, कांग्रेसको लामो जीवनमा यो प्रतिकूलतालाई क्षणिक तुल्याउन सकिनेछ, पार्टी सञ्चालनको रणनीतिमा परिमार्जन र नेतादेखि कार्यकर्तासम्मको प्रवृत्तिमा परिवर्तन गरेर  । वैचारिक रूपले कांग्रेस हारेको छैन । बरु फरक बाटोमा हिंडेका राजनीतिक शक्ति पनि कांग्रेसले हिंडेको लोकतान्त्रिक अभ्यासको बाटोमा आएका छन् । हुनै सक्तैन भनिएको संविधानसभाको चुनाव कांग्रेस सभापतिको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ । शान्ति प्रक्रियामा कांग्रेसले गरेको अगुवाइ सफलताको विन्दुमा पुगेको छ । शक्ति, बन्दुकको नालबाट होइन, ब्यालेटबाट निस्कन्छ भन्ने दर्शन सबैलाई बोकाउन कांग्रेस समर्थ भएको छ । सयौं कार्यकर्ता अनाहकमा मारिए पनि तिनका गाउंबस्तीबाट अझ पनि २० लाखभन्दा बढी मत कांग्रेसलाई प्राप्त भएको छ । अतः तिनै सहिद, असुरक्षाबीच बांचेको कार्यकर्ता अनि तिनले दिलाएका २० लाख मतलाई शिरमा राखेर कांग्रेसले आगामी राजनीतिको बाटो कोर्नुपर्छ । संविधानसभामा दोस्रो स्थानमा रहे पनि अझै कांग्रेस अगुवाइ अभिभावकत्वको दृष्टिले राष्ट्रिय-अन्तराष्ट्रिय क्षेत्रको विश्वासको केन्द्रमै रहेको छ । यिनै भूमिकाहरू भित्रबाट कांग्रेसले आफ्नो आगामी यात्रा व्यवस्थित गर्नुपर्छ ।

यतिबेला राष्ट्रको प्रमुख दायित्व संविधानसभाको पहिलो बैठकको तयारी गर्नु हो । गणतन्त्रको कार्यान्वयन गर्ने सर्वोत्तम विधिको छनोट अनि कार्यान्वयनपछिको अप्ठ्याराहरूको सामना सबै दलको साझा कर्तव्य हो । दल विशेषको विजय या पराजयभन्दा माथि राष्ट्रको विजयलाई सुनिश्चित गर्ने, रक्तहीन क्रान्तिलाई एकताबद्ध भई सम्पादन गर्ने घडी हो यो । शाहीसत्तासंग सहकार्य गर्दा नैतिकताको हेक्का नरहने, माओवादीसंग सहकार्य गर्दा नैतिकताको प्रश्न कोर्ने घडी होइन यो । त्यसैले कांग्रेसले एमाले र माओवादीबीच, माओवादी र मधेसवादीबीच, अनि गणतन्त्र नेपाल र अन्तराष्ट्रिय समुदायबीचको  समन्वय र सहकार्यलाई अभिभावकीय ओत प्रदान गर्न सक्नैपर्छ । नयां संविधान र संघीयताको रेखाङ्कनका लागि कांग्रेसको सैद्धान्तिक प्रस्तावना तुलनात्मक रूपले बढी व्यावहारिक, सन्तुलित र लोकतान्त्रिक छ । तर त्यसलाई साझा सहमतिको दस्तावेज बनाउन निश्चय नै सहज छैन । तर कांग्रेसले त्याग र प्राप्तिको दोहोरो रणनीतिसाथ सहमतिको संविधान निर्माण गर्न योगदान दिनुछ । गणतन्त्रको लोकतान्त्रिक भविष्य निश्चित गर्दै अखण्ड नेपालको सन्तुलित संघीयतामा आमसहमतिको खोजी पनि गर्नुछ । हेक्का राख्नुपर्छ, हामी नयां सक्रमणकालमा प्रवेश गरेका छौं, चुनाव सकिंदैमा चुनौती सकिएका छैनन् । त्यसैले जरुरी छ, पूवाग्रहमुक्त राष्ट्रिय चिन्तनको ।

संविधानसभामार्फत युग परिवर्तनलाई सम्पादन गर्न लाग्दैछ देश । यस घडीमा देशले र्सवत्र परिवर्तनको माग गरेको छ । जनादेश र देशले मागेको छ- परिवर्तित कांग्रेस । अर्थात् कांग्रेसमा परिवर्तन । अर्थात् नयां युगका लागि नयां कांग्रेस ।

यो सम्भव छ । पराजयको यो घडीमा राष्ट्रभरिका कांग्रेसजनले संकल्प लिन जरुरी छ, शुद्धिकरण र सुदृढीकरणको अभियानमार्फ हामी कांग्रेसको नयां आधारशिला खडा गर्नेछौं । इतिहासलाई नेतृत्व गरेको कांग्रेसमा भविष्यको नेतृत्व गर्न सक्नेगरी नयां प्राण भर्नेछौं ।

-लेखक नेपाली कांग्रेसका युवा नेता हुन् ।)

साभार: कान्तिपुर, २४ अप्रिल २००८

One Response to “कांग्रेस पराजयपछिको बाटो”

  1. Binod said

    अन्धाले हात्ती छामे जस्ते लाग्यो कांग्रेस जन्को हारको आफ्ना हेराई र भोगाई, शर्माजीको लेख्ले सम्पूर्ण कारण पहिल्याउने प्रयास गरेको देखीन्छ
    बीनोद ढकाल
    हाल यू स ऐ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )