CANDOR

A worldview by a candid mind >>>

कसरी पराजित भयो कांग्रेस

Posted by Thaneshwar on अप्रील 23, 2008

अर्जुननरसिंह केसी

जुन चुनावका लागि ६० वर्षम्म प्रयत्न, प्रतीक्षा र तपस्या हुंदै आयो, त्यो भर्खरै सकियो । चुनाव कसरी सम्पन्न भयो भन्ने प्रश्नमा अहिले देशव्यापी बहस र चर्चा चलिरहेको छ । जनताको संविधान लेख्न जनताबाट गठन हुनुपर्ने संविधानसभा चुनावमै अवैध साधन र आततायी हत्कण्डा अपनाइयो भने त्यसका नतिजालाई वर्तमान एवं भावी पुस्ताले कुन अर्थसाथ ग्रहण गर्ने – निर्वाचनक्रममा अपनाइएका देशव्यापी आपराधिक क्रियाकलाप र अवैध हत्कण्डासमेत इतिहासमा अंकित भइसकेको परिप्रेक्ष्यमा भावी संविधानसंगै अपराधका अध्याय पनि भावी पुस्तासम्म पुग्नेछन् ।संविधानसभा निर्वाचन सौहार्दपूर्ण वातावरणमा हुनुपथ्र्यो । त्यसमा पनि जनआन्दोलनका संवाहक सात दलबीच त्यस्तो समझदारी जरुरी थियो । माओवादीले देशव्यापी रूपमा अरू दल तथा तिनका उम्मेदवारमाथि सांघातिक आक्रमण गर्ने, आतङ्कद्वारा हतोत्साही पार्ने र युद्ध वा विद्रोहकै हिंसात्मक शैलीमा चुनाव प्रक्रियालाई आफ्नो अनुकूल बनाउने दुष्प्रयास गरेको जगजाहेर छ । नुवाकोट, खासगरी एक नम्बर क्षेत्रको सर्न्दर्भमा पनि त्यस्तै शैली अपनाइएको र गाउंवासी डर-त्रासको दबदबामा रुमलिंदै मतदानकेन्द्रमा पुग्न बाध्य भएको मैले प्रत्यक्ष देखें ।

माओवादीको युवा लडाकु जमात “वाइसीएल”को देशव्यापी आतङ्क, ज्यादती र माओवादीको “जसरी पनि चुनाव जित्नैपर्छ” भन्ने विषयमा केन्द्रित एघार सूत्रीय निर्देशन र प्रशिक्षणलाई सरकारले खुलेआम छुट दियो । अरू उम्मेदवारलाई गाउं प्रवेशमा रोक लगाउने, बाटो बन्द गर्ने, अन्य दलका कायकर्तालाई निर्वाचनको दुइ दिनअघि अपहरण गर्ने, व्यापक रूपबाट भौतिक कारबाही गर्न धम्क्याउने एवं हिंसाका सबै क्रियाकलाप मच्चाइयो । मतदातालाई हतियार प्रदर्शन र विद्रोहको भाषाले आतङ्कति पार्दै एकतर्फी रूपमा मत दिन दबाब दिने एवं मतदानकेन्द्रलाई अघोषित र संगठित रूपले कब्जा गरेका देशभरि, विशेषगरी पहाडी भेगमा अझ उग्र किसिमले भएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षक नितान्त सहरकेन्द्रित हुनाका साथै निर्वाचन आयोगको प्रशासनिक काम हेरेर आफ्नो कर्तव्य पूरा भएको अनुत्तरदायी व्यवहार देखाए । दूरदराज र गाउंवस्तीका मतदाताले भोग्नुपरेको त्रासदी, अत्याचार र अघोषित रूपमा गरिएको मतदानकेन्द्र कब्जाप्रति पूर्णतः उपेक्षा गर्दै मतदान शान्तिपूर्ण र उल्लेखनीय भयो भनियो । आम मतदाताले भोगेको तत्कालीन परिवेश तथा मनोविज्ञान अध्ययन गर्नुपर्ने जरुरत विपरीत उपेक्षा र तिरस्कार गरिएको अन्यायपूर्ण रवैयाका कारण हिंसा र आतङ्कलाई वैधता दिन खोजिएको स्पष्ट हुन्छ ।

सरकारमा कांग्रेसको प्रतिनिधित्व गर्ने मन्त्रीहरूबाट राष्ट्रिय स्तरमा पार्टी जनाधारको प्रतिनिधित्व गर्ने काम हुनाको सट्टा जनता र कार्यकर्ताको सुरक्षा व्यवस्थालाई लत्याउंदै आत्मकेन्द्रित, आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित र आफ्नै साथीहरूलाई तेजोवध गर्ने मौकाको रूपमा मात्र निर्वाचनलाई लिएको मैले प्रत्यक्ष देखे-भोगेको छु । मतदाता तहमा आतङ्कको साम्राज्यले जनतालाई विवश र आज्ञापालक बनाइरहंदा सरकारको सतही, अनुत्तरदायी, लाचार र निकम्मापन नाङ्गो रूपमा देखापर्‍यो । मतदाताले राज्यको सुरक्षा संयन्त्र र व्यवस्थामा भरोसा गर्न सकेनन् । त्यसमाथि दार्चुला, रसुवा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप लगायतका जिल्लामा उम्मेदवारै चुटिंदा पनि सरकार लाचार दर्शक बनेर बसिदिंदा उम्मेदवारको सुरक्षा त गर्न नसक्ने कांग्रेसको नेतृत्व सरकारमा छ भने यस्तो सरकारले हामी मतदातालाई कसरी सुरक्षा र संरक्षण दिनसक्ला भन्ने प्रश्नजन्य सन्देश जनस्तरमा पुग्यो । एकपछि अर्को कानुन तोड्ने हातहतियारसहित पक्राउ परेका वाइसीएलका अभियुक्तलाई कुनै कारबाही कहिल्यै गरिएन । प्रशासन र सुरक्षा निकाय मूकदर्शक भयो । आत्मरक्षाका कारण आमजनतालाई वाइसीएलसमक्ष आत्मर्समर्पण गर्न सरकारद्वारै विवश बनाइयो ।

चुनाव अघिदेखि सुरक्षा व्यवस्थामा कमजोरी र वाइसीएलको आतङ्क र ज्यादतीबारे म लगायत कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले बारम्बार कुरा उठायौं, तर त्यो अरण्यरोदन जस्तोमात्र हुनपुग्यो । शेरबहादुर देउवाले “यसै हो भने चुनाव हुन सक्दैन” सम्म भन्नुभयो । आफ्नै कल्पना र भ्रममा डुबेको सरकारले जनस्तरको यस भोगाई र अनुभवलाई कहिल्यै गम्भीरतापूर्वक लिएन ।

बाह्रबुंदे समझदारीपत्रदेखि तेइसबुंदे सहमतिसम्म आइपुग्दा साढे दुई वर्षे अवधिमा करिब दुई दर्जन विभिन्न सम्झौता र सहमति गर्न-गराउन क्रियाशील कांग्रेसै थियो । जनतामा शान्तिसुरक्षाको सुनिश्चित, लोकतन्त्रको सुदृढीकरण र नयां नेपालको जनउत्तरदायी नेतृत्व पनि हामीले दिनेछौं भन्ने पूर्ण विश्वास बनाउन सकेनौं । चुनावी परिणाम आफ्नो पक्षमा आउन थालेपछि माओवादी नेताहरू सहकार्यको प्रस्ताव लिएर प्रधानमन्त्री तथा हाम्रा पार्टी सभापतिसमक्ष पुग्दा कांग्रेस कार्यकर्ताहरू माओबादीबाटै अङ्गभङ्ग हुनेगरी चुटिंदै भए पनि त्यसबारे प्रधानमन्त्रीले एक शब्द उच्चारण नगर्नुको कारण के हो ? कांग्रेसका कार्यकर्ता र मतदाता जान्न चाहन्छन् ।

कांग्रेसभित्र यस चुनावमा पनि अक्षम्य अन्तरघातको अपराध भएको छ । अपराध गर्नुभन्दा अपराध सहनु वा छुट पाउनु झन् खतरनाक हुन्छ । देशभरि विभिन्न निर्वाचन क्षेत्रमा जिम्मेवार हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्यको प्रत्यक्ष निर्देशनमा पार्टी विरोधि अपराध भएका प्रमाण र दलिल लिएर धेरै साथीहरू मकहां आइपुग्नुभएको छ । म स्वयम्ले आफ्नो निर्वाचन क्षेत्रमा यस्तो प्रत्यक्ष अनुभव गरेको छु । अरू साथीहरूको आवाजलाई कम्तीमा मचाहिं उपेक्षा गर्न सक्दिन । अनुत्तरदायी पार्टी विरोधीहीहरू, जो आफ्नै पार्टी उम्मेदवारविरुद्ध घातको अपराधमा संलग्न छन्, तिनीहरूमाथि अनुशासनको कडा कारबाही हुने कि नहुने ? यदि कारबाही नहुने हो भने दण्डहीनता र अनुशासनहीनताले कांग्रेसको अस्तित्व समाप्त हुन बेर लाग्ने छैन ।

२०५६ को चुनावयता झन्डै एक दशकको अन्तरालमा ४० लाख नयां मतदाता थपिए । तर नवयुवा मतदाताको भावना र आकांक्षालाई समेट्ने, संगठित बनाउने रणनीति हामीसंग भएन। उम्मेदवारीको टिकट वितरणमा गरिएको अलोकतान्त्रिक र अपारदर्शी प्रक्रियाले हाम्रो प्रजातन्त्रवादी चेतनालाई लज्जित बनाएको छ। यत्रो असाधारण तथा ऐतिहासिक निर्णय प्रक्रियामा एक पटकसम्म पनि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएन । पार्टीको आन्दोलन र अभियानमा निरन्तर सक्रिय रहदै आएका नवयुवा, दलित र पेसागत समुदायका राजनीतिक साथीहरू नै पार्टी भीत्र नेतृत्वबाट थोपरिएको अन्याय, पक्षपात, अराजकता र मनपरीको सिकार हुनपुगे । गगन थापा, गुरु घिमिरे, विश्वप्रकाश शर्मा, गोविन्द भट्टर्राई, केशवसिंह, धनराज गुरुङ, उमेशजङ्ग रायमाझी, कल्याण गुरुङ, प्रदीप पौडेल, प्रभृत्ति नवयुवा एवं तरुण दल र नेविसंघका नेतृत्व तहमा पुगिसकेका अनगिन्ती साथीहरूमध्ये कम्तीमा १० प्रतिशतलाई टिकट दिनुपर्छ । पेसागत समूहका प्रतिनिधिहरू पनि छुट्नु हुंदैन भनी मैले अन्तिम क्षणसम्म आवाज उठाएं । तर हामी ०५६ सालकै पूर्ण बहुमतको भ्रममा जकडिरह्यौं । नयां र युवा मतदातासम्म पुग्ने र उनीहरूसंग हेलमेल बढाउने पार्टी नीति र व्यवहार भएन ।

जीर्ण नेतृत्व, रुग्ण व्यवस्थापन र अलोकतान्त्रिक तथा अपारदर्शी कार्यशैलीले नयां पुस्ताका आकांक्षा र आवश्यकतालाई समेटेर चल्न सक्छ भन्ने जनस्तरमा विश्वास जगाउन सकिएन । त्यसमाथि पार्टी महासमितिको निर्णयलाई चुनौती दिंदै कांग्रेसको जिम्मेवार हुनुपर्ने कतिपय व्यक्तिबाट मनपरी किसिमका वकालत गर्दै हिंड्न थालेपछि विद्यमान नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने काममा इमानदारीयुक्त धर्म पूरा होला भन्ने विश्वास बन्न सकेन ।

यतिसम्म भइसकेपछि कांग्रेसभित्र एउटा सीमित सुविधाभोगी घेराबाट अब माओवादी नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुनुपर्छ भन्ने सत्तालिप्साका अनैतिक आवाज गाइंगुंइ सुन्न थालिएको छ । यस स्थितिमा “कालो गाडी चढ्ने” साथीहरूको आतुरी कांग्रेसलाई र्सवनाश गर्ने एउटा बांकी काम हो । हाम्रो नेतृत्व यसै पनि “अर्ध च्याङकाइसेक” भइसकेको छ । माओवादीको सरकारमा जाने हो भने “पूर्ण च्याङकाइसेक” भएर कुनै टापुमा शरणका लागि पलायनको बाटो लिनुमात्र विकल्प रहला ।

जनतामा जांदा कांग्रेस इतिहासमा पार्टी नीति नराम्रोसंग पराजित एवं धक्का व्यहोर्नुपरेको कहिल्यै थिएन । यसमा जनताको कुनै दोष छैन । वास्तवमा पार्टी सरकारको नेतृत्व तथा व्यवस्थापन माओवादीको लाचार छाया बन्ने अदूरदर्शी, जनता-निरपेक्ष तथा अलोकतान्त्रिक कार्यशैली, आफ्नो सीमित घेरा नै कांग्रेस हो भन्ने खालको हुकुमी र हैकमी प्रवृत्ति मुख्य रूपमा दोषी छ । यसको जिम्मेवारी कसले लिने हो, अब त्यसको यकिन हुन आवश्यक छ ।

तैपनि कांग्रेस हारेको वा थाकेको छैन । हामी आफ्नो ऐतिहासिक तथा जनउत्तरदायी जिम्मेवारीबाट पन्छिएका छैनौं । यसलाई कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श पराजित भएको अर्थमा बुझनु हुंदैन । हिजोसम्म एकदलीय अधिनायकवादमा विश्वास गर्नेहरू आज लोकतान्त्रिक पद्धतिलाई अङ्गीकार गर्ने रट लगाउन थालेका छन् । यो नै कांग्रेसको सैद्धान्तिक र नैतिक विजयको द्योतक हो । तथापि नेतामुखी र व्यक्तिमुखी गलत संस्कृतिबाट ओतप्रोत हुनुले कांग्रेसको साख गिरेको छ । यसबारे अब पनि पाठ नसिक्ने हो भने युगले हामीलाई कुरेर बस्ने छैन ।

अब यथाशीघ्र पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्छ । हुकुमी र हैकमी ढङ्गले होइन, संस्थागत, विधिसंगत, पारदर्शी र लोकतान्त्रिक ढङ्गबाट पार्टी सञ्चालनसाथै र्समर्थक वा शुभेच्छुक जनसमुदायको विश्वास, कार्यकर्ताहरूको निष्ठा र कांग्रेसको आधारभूत सिद्धान्त मूल्य-मान्यतालाई र्सार्थक र सफल बनाउनेभन्दा अर्को विकल्प हामीलाई छैन । पार्ट लाई कार्यकर्तामा आधारित बनाउने र यसको संगठनात्मक कार्यशैलीमा पुनःसंरचना तथा संस्थागत गर्ने कार्यमा यथाशीघ्र प्रजातान्त्रिक ढङ्गले निर्णय लिनुपर्ने खांचो छ । जनतामा विश्वासको सञ्चार गराउन असुरक्षित वा आतङ्कति मतदातालाई सुरक्षा र संरक्षण दिन हामीले ढिलाइ गर्‍यौं भने यही स्थिति पनि हामीबाट गुम्नेछ । लोकतन्त्रको संवाहक शक्ति कांग्रेस नै हो भन्ने जनविश्वासको निरन्तरताका लागि चुनावद्वारा जनताले औंल्याएका कमी-कमजोरी र गल्ती सच्याउन ढिलाइ गर्ने अवसर वा छुट हामीलाई छैन ।

अब कांग्रेसले सरकार बाहिरै बसेर आफ्नो पालामा भए-गरेका निर्णय कार्यान्ययन गराउन राजनीति परिचालनमा सक्रिय हुनुपर्ने जनादेश छ । त्यसमा बाह्रबुंदे समझदारीपत्रदेखि तेइसबुंदे साझा सहमतिसम्मका सबै सम्झौता र सहमति आउंछन् । मधेसी जनअधिकार फोरम, तर्राई मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टी आदिवासी/जनजाति, दलित आदि पक्ष, वर्ग र समुदायसंग भए-गरेका सम्झौताको पूर्ण कार्यान्वयन अनिवार्य छ ।

यो ऐतिहासिक दायित्व पूरा गर्दै लोकतान्त्रिक शान्तिपूर्ण नयां नेपालको आधारशिलाका रूपमा नयां संविधान निर्माण गर्न कांग्रेस हरप्रकारको सहकार्यका लागि प्रतिबद्ध रहनुपर्छ ।

अहिलेसम्म माओवादीसंगै भएका हतियार राज्यलाई बुझाउने कि प्रक्रियागत ढङ्गले नष्ट गर्ने – आगामी साउन अगाडि नै यसबारे उचित निर्णय गरिसक्नुपर्छ । राज्य सञ्चालक पार्टीसंग समानान्तर रूपमा हिजोको विध्वंसक आफ्नै सेना र हतियार हुनुलाई लोकतन्त्रको मोडेल मान्न सकिन्न, लोकतन्त्रको खतराका रूपमा लिइन्छ । आपराधिक क्रियाकलाप र अनेकौं विवादमा मुछिएको माओवादीको वाइसीएल विघटन हुनुपर्छ । माओवादीले नागरिकहरूको जफत गरेको घरजग्गा र सम्पत्ति फिर्ता गरी उसैले विस्थापित गरेका नागरिकलाई घर फर्किन वातावरण बनाइदिएपछि मात्र माओवादीलाई नैतिक रूपमा सत्ता सम्हाल्ने अधिकार रहन्छ ।

कांग्रेस लोकतन्त्र सुदृढ र शान्तिलाई दिगो तथा सुनिश्चित गर्न अग्रसर रहंदै नयां नेपाल निर्माणका लागि सत्ताबाहिरै बसेर सहकार्यका लागि प्रतिबद्ध हुनुपर्छ । सातदलीय गठबन्धनको एक अङ्गको रूपमा रहेर पनि नेमकिपा सरकारमा सहभागी भएन । तर्सथ सहकार्यको अर्थ सरकारमै बस्नुपर्छ भन्ने होइन । सरकारका काम, गुण र दोषका आधारमा लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप परीक्षण गर्दै जानुपर्छ । कांग्रेसले संस्थागत निर्णय, कार्यकर्ताले देखेको आवश्यकता, जनचाहना बाहेक अब पार्टी कसैको र्सवसत्तावादी एकलौटी चल्नु हुंदैन भन्ने तत्त्वबोध चुनावी परिणामले गराएको छ ।

लेखक, नेपाली कांग्रेसका प्रवक्ता हुन् ।

साभार: कान्तिपुर, २३ अप्रिल २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )