CANDOR

A worldview by a candid mind >>>

कांग्रेस, मधेस र बीपी

Posted by Thaneshwar on मार्च 3, 2008

प्रदीप गिरी

लामो अलमलपछि भए पनि सात दलको सरकारले मधेससंग सम्झौता गरेको छ । आम जनताले राहत अनुभव गरेका छन् । मधेसको असन्तोष र विद्रोह बेलैमा बुझन नसकिने थिएन । सात दलको नेतृत्वले खास गरेर नेकपा-एमाले) र नेकपा -माओवादी) ले आवश्यक समवेदना देखाएका थिएनन् । खासमा यी दुइ पार्टीभन्दा पनि नेपाली कांग्रेसको मधेसप्रति ठूलो जिम्मेदारी थियो । यो यसै पनि मधेसका राजनीतिक कार्यकर्ताबाटै सङ्गठित, पोषित र संरक्षित पार्टी भएकोले । हिजोको कांग्रेस मधेसप्रति यस्तो उदासीन थिएन । मधेसले ०७ सालको क्रान्तिको ठूलो जिम्मेवारी लिएको थियो । यस पार्टीको नेतृत्वमा धेरैजसो मधेसमै जन्मिएर, हुर्किएर र संस्कारित भएका व्यक्ति थिए । तदनुरूप विगतमा कांग्रेसले मधेसको राजनीति र मागप्रति अत्यन्तै सकारात्मक धारणा अगाडि सारेको थियो ।०७ सालको क्रान्तिअघि वा पछि पनि लोकतान्त्रिक आन्दोलनमा मधेसको प्रमुख उपस्थिति थियो । राणाशाहीका अन्तिम वर्षरूमा सप्तरीको हनुमाननगर काण्डका नामले जानिएको रोमाञ्चक घटनाक्रमले सिंगो नेपाल र भारतको समेत मुटु घचघच्याएको थियो । त्यसबेला भारतका सुप्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण र डा राममनोहर लोहिया भारतको जेल तोडेर नेपाल पस्नुभएको थियो । सप्तरीका तरूणहरूले उहांहरूका कार्यकर्तालाई सशस्त्र आन्दोलनका लागि तालिम गर्ने व्यवस्था मिलाएका थिए । त्यसै तालिमका क्रममा जयप्रकाश र डा लोहिया पक्राउ पर्नुभएको थियो । नेपाल र भारतका क्रान्तिकारीहरूले मिलेर दुवैजनालाई बन्दी अवस्थाबाट मुक्त गराएका थिए । जयप्रकाश नारायण र डा लोहियाले आजन्म यो गुण बिर्सनुभएन । यी दुवै महानुभावले राणाशाहीविरुद्ध नेपाली जनताको संर्घषमा पछि दिलोज्यानले मद्दत दिनुभएको थियो । त्यो सप्तरी-काण्ड मधेसी वीरता र बलिदानको अनुपम उदाहरण थियो । यो एउटामात्र वीरताको उदाहरण होइन । कांग्रेसको अग्रपङक्तिमा रहेका नेताहरू रामनाराण मिश्रा, रामेश्वरप्रसाद सिंह, महेन्द्रनारायण निधि, भागवत यादव, शेष इद्रिसजस्ता गौरवशाली नामहरूको लामो सूची छ ।२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बलका आधारमा मुलुकमा नाङ्गो तानाशाही लादे । तानाशाही विरुद्ध मधेसले भीषण संर्घष गरिरह्यो । सहिद दुर्गानन्द झा र शिवचन्द्र मिश्राको आत्मआहुति नेपालको जनआन्दोलनको इतिहासमा स्वर्णअक्षरमा अङ्कति छ । अरू पनि अनेकौं नाम छन् । यहां त्यस्ता सबैको सम्झना र उल्लेख गर्न सम्भव छैन । यस्तो गौरवशाली योगदान गरेको मधेसी समुदायप्रति कांग्रेसले न्याय गरेन भन्ने सुनिनु र देखिनु निश्चय अफसोचको कुरो हो ।यो अवश्य हो, केही ढिलै गरेर भए पनि कांग्रेसको अग्रसरतामै मधेस समस्याले निकास पायो । यसका निम्ति सिंगो कांग्रेस र गठबन्धनका अन्य घटकसमेत धन्यवाद र बधाईका पात्र छन् । तर कांग्रेसले यत्रो लामो अलमल गर्नु भने उचित र आवश्यक थिएन । कांग्रेस नेपालको र्सवाधिक विश्वसनीय लोकतान्त्रिक पार्टी हो । सांचो अर्थमा लोकतान्त्रिक संस्कार र संगठन भएको पार्टी नेताको भावनाबाट सजिलै तरङ्गति हुन सक्नुपर्छ । अवश्य पनि भावनामा मात्र बग्नु हुंदैन । राजनीतिक दलले जनताको भावनाप्रति निरपेक्ष र उदासीन रहनु आत्मघातमात्र गर्नु हो । अहिले भर्खरै कांग्रेस यस्तो भयङ्कर जङ्घारबाट सकुशल उम्किएको छ । कांग्रेसको यो कुशल आरोहण सिंगो मुलुकका निम्ति खुसी र गौरवको कुरा हो । तर के कांग्रेसले यस्तो अलमल र अन्योल बेलैमा निर्मूल गर्नुपर्ने थिएन – आखिर यत्रो लामो समयसम्म कांग्रेस अलमल र अन्योलको सिकार कसरी बनिरहन सक्यो – यस प्रश्नले निश्चय पनि आत्मालोचनाको अपेक्षा राखेको छ ।

२०४६ को महान जनआन्दोलनपछि आजसम्म कांग्रेस सबभन्दा लामो समयसम्म सत्तामा छ । यी वर्षा कांग्रेसले पक्कै पनि उल्लेखनीय काम गरेको छ । कांग्रेसका कतिपय कमजोरी पनि टड्कारो रूपमा प्रकट भएका छन् । त्यस्ता कमजोरी निम्न रूपमा औंल्याउन सकिन्छ ।

– आदर्श र विचारधाराप्रति प्रतिबद्धता कमजोर हुंदै जानु ।

-संगठनको ढांचा लोकतन्त्रीकरण नहुनु ।

संक्षेपमा भन्दा माथिका यी दुइ बुंदाले कांग्रेसका अरू सारा कमजोरी पनि आफूभित्र समेटेका छन् । उक्त दुइ कमजोरी कांग्रेसमा आफैं उब्जिएका होइनन् । जताबाट आए पनि यस्ता कारण पनि आत्मगत हागो पक्रिएर हावी भएका हुन्छन् । बीपी कोइरालाको देहावसानपछि कांग्रेसमा विचार र बहसको सिलसिला कुण्ठित हुंदै गयो । वैचारिक कुण्ठाको रोगले कांग्रेस भूमण्डलीकरणको आंधीमा फंसेर निस्तेज हुंदै गयो । कांग्रेसको आत्मचिन्तन पातलिन थाल्यो । कुनै समय कांग्रेस आफू समाजवादी पार्टीभएकोमा विशेष गर्व गथ्र्यो । कांग्रेस सोसलिष्ट इन्टरनेसनल वा अन्तराष्ट्रिय समाजवादी संगठनको सम्मानित सदस्य थियो । तिनताक सिंगो एसियामा समाजवादको लहर थियो । कांग्रेसले एसियाली समाजवादी सम्मेलनको तयारी एवं आयोजनामा गतिलो भूमिका खेलेको थियो । एसियाली समाजवादी सम्मेलन सन् १९५३ रंगुनमा र १९५६ बर्म्बईमा भएका थिए । कांग्रेस त्यस्ता सबै सम्मेलनमा सहभागी थियो । नेपालले स्वयम् पनि काठमाडौंमा यस्तो सम्मेलन आयोजना गरेको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बीपी कोइरालाले तत्कालीन परिस्थितिको हिसाबले अत्यन्त क्रान्तिकारी कार्यक्रम सार्नुभएको थियो । ०४६ पछिका हाम्रो कार्यक्रममा कोइरालाको त्यो क्रान्तिकारी विचारको र्स्पर्शको अभाव भयो । दातृराष्ट्रहरूको चाहना, बजार अर्थव्यवस्था र निजीकरणको दबाबमा फंसेर कांग्रेसले लोकप्रिय कदमहरू लिन सकेन ।

आजको नेपालमा आजै समाजवाद निर्माण गरेर देखाउंछु भन्नु कोरा कल्पना हो । कांग्रेससंग कसैले त्यस्तो आशा गरेको थिएन । त्यो गर्नु पनि परेको थिएन । तर कांग्रेसले आमजनताको आधारभूत आवश्यकता परिपूर्तिको विषयमा सम्झौताविहीन कदम चाल्नेछ भन्ने आशा सबैमा थियो । खास गरेर रोजगार, शिक्षा र स्वास्थ्यको विषयमा अनेक काम थिए र छन् । आगामी महाचुनावमा अवश्य पनि यस्ता कुरा उठ्नेछन् । यो चुनाव मुख्यतः संविधान बनाउन सम्पन्न हुंदैछ । तर जनताले त्यो बुझेको देखिंदैन । आजसम्मको चांजोपांजो र भावना हेर्दा यो चुनाव पनि दलीय सत्ता-संर्घषको रङ्गमञ्च हुने लक्षण छ । चुनावका क्रममा विभिन्न आरोप-प्रत्यारोप हुने निश्चितप्रायः छ । कांग्रेसले यसनिम्ति आफूलाई वैचारिक र राजनीतिक रूपमा तयार राख्नुपर्छ । आज पनि सिंगो मुलुकले कांग्रेसलाई एकमात्र विश्वसनीय लोकतान्त्रिक पार्टीको रूपमा हेरेको छ । जुनसुकै समाजमा पनि राजनीतिमा त्यहांको मध्यमवर्ग प्रभावशाली रहन्छ । नेपालमा पनि यस्तै छ । नेपालको यस मध्यमवर्गले कांग्रेसलाई आफ्नो पार्टीको रूपमा हेर्ने गरेको छ । कांग्रेसको निम्ति यो अत्यन्त सकारात्मक तथ्य हो । यतिले मात्रै पुग्दैन । आफ्नो यस वर्गीय आधारलाई चुनावमा प्रेरित र संगठित गर्न कांग्रेसले स्पष्ट विचार र ठोस कार्यक्रम सार्नुपर्छ । कांग्रेसका कार्यकर्ताले उच्चकोटीको राजनीतिक विचार र मानसिकतासाथ चुनावमा होमिनुपर्छ ।

अब एकपटक फेरि मधेसको कुरा झिकौं । आफ्नो स्थापनाकालदेखि आजसम्म कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेस छ । अहिले पनि कांग्रेसमा मधेसीमूलका नेता र कार्यकर्ताको विशाल संख्यात्मक उपस्थिति छ । तर राजनीतिमा सदार्सवदा संख्यातन्त्र हावी भइरहंदैन । सानो राजनीतिक आंधीसामु विशाल संख्याको बल हतप्रभ हुन पुग्छ । मधेसमा कांग्रेसको हकमा यस्तो नहोला र हुने छैन भनेर विश्वास व्यक्त गर्न सकिन्छ । तर कांग्रेसले मधेसलाई सम्बोधन गरेर भन्नुपर्ने कुरा अनेक छन् । आफ्ना कुरालाई स्पष्ट एवं जोडदार रूपमा भन्न सकेन भने कांग्रेसलाई अप्ठ्यारो हुने पक्का छ । मधेसवादी शक्तिले अवश्य पनि आफ्नै किसिमले चुनौती दिनेछन् ।

कांग्रेसका कार्यकर्ताले त्यसविरुद्ध मुकाबिला गर्ने तयारी गर्नुपर्छ । यो आदर्श र विचारधाराको क्षेत्रमा गरिनुपर्ने तयारी हो, अरू थोक होइन । कांग्रेसले मधेसी जनसमुदायलाई आफ्नो मधेसप्रतिको विचारधाराबाट चित्त बुझाउन सक्नुपर्छ । हिजो विभाजित अवस्थामा कांग्रेसले मधेसका हकमा संघीय व्यवस्था र राजकीय आरक्षणबारे स्पष्ट निर्णयगरेको थियो । दुइ पार्टीको एकीकरणको हतार-पतारमा अहिले ती प्रस्ताव ओझेलमा परेका छन् । कांग्रेसले विधिवत रूपमा संघीय राज्य र मधेसी आरक्षणको कुरो सबैभन्दा पहिले उठायो भन्ने घोषणा गर्ने हाम्रो नैतिक अधिकार छ । कांग्रेसले यो कुरो एक कदम बढेर घरका छत, छाना र धरहरासमेतमा चढेर सिंगो देशलाई सुनाउन चुक्नु हुंदैन ।

यतिमात्र होइन, कांग्रेसले आफ्नो पुंजीका रूपमा भन्ने-सुन्ने र प्रचार गर्नुपर्ने एउटा अत्यन्त महत्त्वपूण कुरो छ । मधेस आन्दोलनको कोलाहलमा कांग्रेसले त्यसतर्फध्यान दिएको देखिंदैन । एकातिर कांग्रेसका नेताहरू आफ्ना भाषणमा शब्दैपिच्छे बीपी कोइरालाको नाम उच्चारण गर्छन् भने अर्कोतिर हाम्रा नेताहरूले कोइरालाको वैचारिक उत्तराधिकारलाई गम्भीरतापूपक लिएको देखिंदैन । भूमण्डलीकरणको आंधीमा लोकतान्त्रिक समाजवाद विस्मृत भयो । दुनियांको धेरै मुलुकमा प्रायः यस्तै भयो । त्यो आर्श्चर्यजनक नहुन सक्छ । तर मधेस आन्दोलनको यत्रो प्रचण्ड आंधीबेहरीमा कोइरालाको मधेस र मधेसी विषयक शिक्षा कसरी बिर्सियौं – कांग्रेसका प्रमुख संस्थापक एवं सिद्धान्तकार बीपी कोइराला हुनुहुन्थ्यो भन्ने निर्विवाद छ । उहांले आफ्नो सुदृध राजनीतिक जीवनमा आज नेपालमा देखिएका यावत् समस्याबारे दृष्टि पुर्‍याएको देखिन्छ । कोइरालाका यावत् लेख-भाषण गहिरिएर हेरेमा गणतन्त्र र राज्यको पुनःसंरचनासमेतमा विचार दिनुभएको छ । मधेसका हकमा त अझ एउटा विशेष पृष्ठभूमिको विशेष प्रसंग छ । जनमत संग्रह लगत्तै पछिको कुरा हो ।जनमत संग्रहमा सुधारसहितको पञ्चायती व्यवस्थाले बहुदलीय व्यवस्थालाई चार लाखको मतान्तरले जितेको थियो । तथापि त्यो विजय निरंकुश पञ्चायती व्यवस्थाको विजय थिएन । त्यो सुधारिएको पञ्चायती व्यवस्थाको विजय थियो । त्यसमाथि बहुदलको पक्षमा बीस लाख मत परेको थियो । पूरै राज्यसंयन्त्र लाग्दा पनि त्यति भारी मत्र प्राप्त गर्नु चानचुने कुरा थिएन । उहांले त्यो बीस लाख मतको कदर गरेर संविधानमा संशोधन हुनुपर्ने अभिमत राख्नुभयो । राजा वीरेन्द्रले संविधानको तेस्रो संशोधनका लागि संविधान सुधार सुझाव आयोग गठन गरेका थिए । त्यस आयोगसमक्ष बीपीले लिखित सुझाव दिनुभएको थियो । कांग्रेसका मित्रहरूले यसलाई विशेष ध्यान दिएर पढ्नु आवश्यक छ । त्यस समयमा मधेस आन्दोलन थिएन । मधेसका नेतामा पर्याप्त आत्मविश्वास थिएन । उता जनमत संग्रहमा देखिएको विजयले पञ्चायत व्यवस्थाको आत्मविश्वास शिखरमा थियो । त्यतिबेला संविधान संशोधनका लागि सुझाव दिने क्रममा बीपीले अन्य सुझावसाथ मधेसको प्रसंगमा समेत प्रस्ट भन्नुभएको थियो:

– संसदका लागि बालिक मताधिकारको आधारमा चुनाव व्यवस्था भएपछि त्यस्तो चुनावलाई भ्रष्ट पार्ने हेतुले त्यसमा र्सत या बन्देज या अंकुश राख्न मुनासिब हुंदैन ।

– नागरिकहरूको र्सवमान्य मौलिक अधिकारको जसमा लेख्ने, बोल्ने, संगठन गर्ने आदि अधिकार समावेश छन् । स्पष्ट रूपबाट संविधानले सुरक्षित गर्नुपर्छ ।

– दुइ तिहाइ बहुमतबाट संविधानमा संशोधन गर्नसक्ने व्यवस्था साधारणतः सबै संविधानमा रहन्छ, त्यो रहनुपर्छ ।

– संविधानमा तर्राईवासीको भाषा, नागरिकता, सरकारी सेवाहरू एवं राजनीतिमा उनीहरूको प्रश्नलाई ध्यानमा अवश्य राखियोस् । निर्वाचन क्षेत्रको गठनको आधारमा जिल्लाहरू नराखी जनसंख्यालाई आधार बनाउने हुनुपर्छ । संशोधित संविधानमा नेपाली जनताको सम्पूण राजनीतिक अधिकारको उपभोग गर्ने हकका साथै रोटी पाउने हकको ग्यारेन्टी पनि हुनुपर्छ । -नेपालको राजनीतिक दर्पण, भाग- ४, पृष्ठ ६८१, सम्पादक गीष्मबहादुर देवकोटा) १

२०३७ सालमै कोइरालाको यस्तो स्पष्ट कथन थियो । स्मरणीय छ, आज यी र यस्तै माग र भावनाका आधारमा मधेस तातेको हो । ०३५ सालपछि कोशी, कमला र वागमतीबाट पनि धेरै पानी बगिसकेको छ । गत ३० वर्षा मधेसको पीडा झन् घनिभूत भएको छ । बितेका वर्षा कांग्रेसले स्व कोइरालाको त्यस ऐतिहासिक सन्देशको किन उपेक्षा गर्‍यो, यो विचारणीय प्रश्न छ । ३० वर्षा मुलुकको क्रान्ति-चेतनामा भएको तीव्र र गहन विस्तारले आज कांग्रेस बीपीले देखाएको विचारबाट झन् अगाडि बढ्नुपर्छ । उल्टो बीपीको त्यो पुरानो शिक्षासमेत बिर्सिइयो भने बडो नराम्रो हुन्छ । आगामी आमचुनावमा कांग्रेसका साथीहरूले कोइरालाको उपरोक्त सन्देशको झण्डा फर्फाउंदै हिंड्नुपरेको छ । त्यसो गर्नसके मात्र कांग्रेसको विजय सुनिश्चित छ । कुनै पार्टीको लोकतान्त्रिक संस्कार धमिलो भए आम जनतासंग पनि त्यसको सम्बन्ध कठ्याङग्रिंदै जान्छ । यताका वर्षा कांग्रेसमा लोकतन्त्रीकरणको विकासमा शिथिलता देखियो । यसै कारणले बेलैमा मधेस आन्दोलनले सम्बोधन भेट्न सकेन ।

बालिग मताधिकारीमा आधारित आमचुनावभन्दा व्यापक र मौलिक अर्को कुनै लोकतान्त्रिक अभ्यास हुंदैन । कांग्रेस र सिंगो नेपाल यस महान अभ्यासमा फेरि एकपटक होमिएका छन् । आमचुनावको यस अभ्यास र प्रयोगले नेपाली कांग्रेसले आफ्नो लोकतान्त्रिक संस्कारलाई दृढतर बनाउनेछ । हामीले आम मतदातालाई उनीहरूको सुखद भविष्यको

विश्वास दिनुपरेको छ । कांग्रेसले आफ्नो आदर्श र विचारमा प्रतिबद्ध हुनु र जनतालाई त्यसको विश्वास दिलाउन सक्नुपर्छ । यति भए सिंगो नेपालले र खास गरेर मधेसले कांग्रेसलाई पुरानै किसिमको माया र विश्वास प्रदान गर्नेमा ढुक्क हुन सकिन्छ ।

तर यो सब यसै हुंदैन । कांग्रेसको कार्यपद्धतिको पूर्ण लोकतन्त्रीकरण हुनुपर्छ । कांग्रेसभित्र र बाहिर लोकतान्त्रिक संरचना र संस्कार बलियो गर्नुपरेको छ । त्यो हुनासाथ कांग्रेस आफसेआफ मधेस, जनजाति, महिला र

दलितप्रति स्वतः उत्तरदायी हुनेछ । कांग्रेसले त्यस्तो उत्तरदायित्वको अनुभूति दिएरमात्र यसपटकको संविधानसभा चुनावका माध्यमबाट मुलुकमा आफ्नो अग्राधिकार सुनिश्चित गर्न सक्नेछ ।

साभार: कान्तिपुर ०३ फेब्रुअरि, २००८।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: