CANDOR

A worldview by a candid mind >>>

तर्राईको आन्दोलन- केही प्रश्न

Posted by Thaneshwar on फ्रेवुअरी 27, 2008

डा. युवराज संग्रौला

राष्ट्रलाई चुनौती दिंदै वर्तमान राजनीतिक संकट भविष्यको अस्तित्वको संकटमा रूपान्तरण भइरहेको छ । तर्राईमा आन्दोलन चलिरहेको छ । तर्राईको आन्दोलन पहाडको जीवनलाई ध्वस्त बनाएर जित्न सकिन्छ भन्ने मनोविज्ञानबाट प्रेरित भएको स्पष्ट छ । तर कसैको स्वतन्त्रता कसैको स्वतन्त्रतालाई बर्खास्त गरेर प्राप्त हुन सक्तैन । नेपाल एउटा राष्ट्र हो, यस राष्ट्रलाई हिजो शासन गर्नेहरूले कमजोरी गरेका होलान्, तर शासकले गरेका कमजोरीलाई सच्याउने काइदा राष्ट्रलाई झन् कमजोर बनाउने रणनीति हुन सक्तैन ।

तर्राईका जनताले सम्मानित नागरिक हुनपाउने जुनसुकै आन्दोलन जायज छन् । नागरिकताको समस्या समाधान भइसकेको छ । भारतबाट अपराध गरेर नेपाल पसेकाले पनि फाइदा लिएका छन् भन्ने प्रमाणित भइसकेको छ । यस्ता अपराधी गिरोहले लिएका नागरिकता तर्राईका जनताले नै बदर गराउनेछन् भनेर विश्वास गर्न सकिन्छ । तर्राईका जनताको चाहना संघीय व्यवस्थाको निर्माण गर्नु हो भन्ने स्पष्ट छ । तर किन सम्पूर्ण तराईलाई एउटा प्रदेश बनाउनुपर्ने हो ? यसको जवाफ अहिले पछिल्लो समयमा आन्दोलनको नेतृत्व गर्ने नेताले दिनसकेका छैनन् । तर्राईमा अनेक भाषी र जातका मानिस छन् । एउटा सिंगो प्रदेशले सबैका भाषा र संस्कृतिको संरक्षण गर्न सक्तैन । मैथिली, अवधी, भोजपुरी एवं थारू भाषाको संरक्षण राज्यको कर्तव्य हो । यी विविध भाषा बोलिने प्रदेशका लागि ‘हिन्दी भाषा’लाई राष्ट्रिय भाषा बनाएर सञ्चालन गरिने रणनीतिले कसरी जनतालाई र्सार्वभौम बनाउला र ?

भौगोलिक रूपमा पनि तर्राईलाई एउटा प्रदेशको रूपमा गठन गर्न सम्भव छैन । एक हजार किलोमिटर लामो अनुपातमा दस किलोमिटर चौडाइ रहेको भूभागलाई प्रशासनिक दृष्टिकोणबाट प्रदेशको रूपमा प्रशासित गर्न सम्भव छैन । तिनबाट प्रमुख भाषा मैथिली, भोजपुरी र अवधी भाषाका आधारमा प्रदेशको गठन गर्नुपर्ने बाध्यता स्पष्ट छ । मिथिला सभ्यता रहेको धनुषा, सिरहा, महोत्तरी एवं वरिपरिका क्षेत्र कथित मधेसको अवधारणाभन्दा धेरै पुराना क्षेत्र हुन् । जतिबेला भारत थिएन, जतिबेला ‘भारतवर्षा मध्यप्रदेश’ भनिने भूभाग थिएन, मिथिला सभ्यताको केन्द्र थियो र त्यो इतिहासमा अंकित थियो । त्यस्तो ऐतिहासिक सम्पदा र सभ्यतालाई ‘मधेस’ नामको विवादास्पद अवधारणामा किन समाहित गर्न चाहिएको हो – अर्कातिर विश्वलाई एउटा आधुनिक सभ्यता र धर्मको उपहार दिने कपिलवस्तु पनि छ । यस्तो ऐतिहासिक सभ्यता र संस्कृतिलाई किन ‘मधेस’मा समाहित गर्न खोजिएको हो ? हिजो नेपालका निरंकुश शासकले पनि ‘कपिलवस्तु’को नाम उन्मूलन गर्न चाहेनन् । यी ऐतिहासिक विविधतालाई ‘मधेस’ नामको राज्यले कसरी सम्बोधन गर्छ ?

तर्राईको इतिहास नेपालको बृहत्तर इतिहासभन्दा फरक छैन । तराई एउटा भूभागको रूपमा अस्तित्वमा रहेको छ, जसरी पहाड । यी दुवै भूभागको अस्तित्व नेपालले ब्रिटिस साम्राज्यवादीस“ग लडेको र उपनिवेश हुनबाट जोगिएको तथ्यमा आधारित छ । तर्राईलाई बेलायतीबाट जोगाउन पहाडका मानिसले पनि ज्यान दिएका छन् । त्यसैले तर्राई र पहाड एउटै राष्ट्रका रूपमा रहेका छन् । यस तथ्यलाई बिर्सनु इतिहासलाई बिर्सनुजस्तै हो । अर्कोतिर पूर्वका झापा र मोरङमा धिमाल, मेचे, कोचे र किसानजस्ता थुप्रै आदिवासी छन् । उनीहरूका भिन्नै भाषा र संस्कृतिलाई ‘मधेस’ भन्ने अवधारणाले कसरी सम्बोधन गर्छ ?

मधेसलाई एक प्रदेश बनाउने माग अव्यावहारिकमात्रै होइन, हुनै नसक्ने राजनीतिक महत्त्वाकांक्षा हो भन्न सकिन्छ । केही व्यक्तिका राजनीतिक महत्त्वाकांक्षाका लागि, राष्ट्रको अस्तित्व र थुप्रै आदिवासी जनताको हितलाई तिलाञ्जली दिनु हुंदैन । तर वर्तमान सरकारले समस्याको समाधान गर्न गम्भीर त्रुटिहरू गरेको छ । संविधानसभाको तयारीसाथै विशेषज्ञहरू रहेको कार्यदलद्वारा संघीयताका लागि आधार निर्माण गर्ने कार्य तदारुकतासाथ गरिदिएको भए आमजनताको बहस त्यतैतर्फलक्ष्यित रहने थियो र संविधानसभाले सजिलै राज्यको पुनःसंरचनाको उद्देश्य प्राप्त गर्न सक्ने थियो । तर सरकार र राजनीतिक दलले आफ्नो गन्तव्य निर्धारण गर्न सकेनन् । उनीहरू भागबन्डा र विवादमा मस्त रहे । ‘रोम जल्दै रह्यो, सम्राट बांसुरी बजाइमा नै व्यस्त रह्यो ।’

तर्राईको अन्दोलनलाई सम्बोधन नगरी संविधानसभाले वैधानिकता पाउला भन्नु मूर्खता हुन्छ । हो, स्थापित राजनीतिक दलले तर्राईका जनताको विश्वास जितेर जान्नसक्ने अवस्था भएको भए, कुरा अर्कै हुने थियो । यदि सात दलले औपचारिक घोषणाद्वारा संघीय व्यवस्थाको ढांचामा ‘एकमत’ भएको अनुभूति दिनसकेको भए, समस्याको समाधान हुने अवस्था अहिले पनि नभएको होइन । सात दलबीच ‘मिथिला क्षेत्र, कपिलवस्तु क्षेत्र र थारूवान’ राज्यलाई मान्यता दिई सोहीअनुसार संविधानसभामा जाने प्रतिबद्धताको घोषणा गर्न केले रोकेको छ ? तर सरकार आफैं आफ्नो देशको समस्यामा भारतलाई गुहारिरहेको छ । किन ? यदि सरकारलाई तर्राईको समस्या भारतले फुकेको बेलुन हो भन्ने विश्वास छ भने किन भन्न सक्दैनन् जनतालाई ? स्पष्ट छ, तर्राईको आन्दोलनमा आम तर्राईका जनता तर्राईको समृद्धि चाहन्छन्, सम्मान र विश्वास चाहन्छन् । तर एकातिर भारतबाट पसेका अपराधीहरू, भारतीय जनता दल, नेपाली प्रतिक्रियावादीहरू र केही स्वार्थी नेताहरू जनताका नाममा केही अरू नै चाहिरहेका छन् । तर्राईका जनतामाथि को थियो ? कुरा हिजो महन्थ ठाकुरले किन उठाएनन् ? , हृदयश त्रिपाठीले किन उठाएनन् ? बहुदलीय व्यवस्थाका १५ वर्षा सबैभन्दा बढी मन्त्री भएका उनीहरू नै होइनन् ?

रक्सौलमा भारतीय जनता पार्टी कार्यकर्ता नेपालमा आउने तेल रोकेर बसेका छन् । भारतीय सरकार त्यसलाई टुलुटुलु हेरिरहेको छ । नेपालमा आउने तेल नेपालले किनेको हो र सम्झौताअनुसार आएको हो । कसरी पायो भारतमा त्यस्तो तेल रोक्ने अधिकार भारतीय जनता दलले ? ऊ राजाको अस्तित्व चाहिरहेको छ, नेपालमा । अनि उनीहरूको खुल्ला हस्तक्षेपले तर्राईमा प्रतिक्रियावादीहरूको खेल चलिरहेको महन्थ ठाकुरले किन देख्न सकिरहेका छैनन् ?

एउटा ख्याल गर्नुपर्ने कुरा के हो भने प्रधानमन्त्रीको पार्टी नेपाली कांग्रेसदेखि व्रिद्रोहीबाट चुनावको राजनीतिमा आएको माओवादी र अहिले भर्खरै बनाइएको मधेसी मुक्तिमोर्चा कुनै पनि जनताले मतदानबाट अनुमोदित प्रतिनिधि होइनन् । उनीहरू जनआन्दोलनका प्रवक्तामात्र हुन् । संविधानसभा उनीहरूको हैसियतलाई जांच्ने र वैधानिकता प्रदान गर्ने एउटामात्र उपाय हो । अतः जनताले वैधानिक रूपमा अनुमोदन नगरेका शक्तिहरूलाई राज्यको प्रादेशिक व्यवस्था गठन गर्ने अख्तियार कसले दिएको छ ?

संविधानसभा नै एकमात्र वैधानिक निकास हो भने जनतालाई त्यस अवसरबाट वञ्चित गर्नु पछाडिका उद्देश्य के हुन् त ? के कुरा अभिनिश्चित छ भने यदि संविधानसभा हुनसकेन भने नेपाल डरलाग्दो गृहयुद्धमा प्रवेश गर्ने खतरा टड्कारो छ । यसले कसलाई फाइदा गर्छ, थाहा छैन – तर भारतको दृष्टिकोण पनि यसबारे प्रस्ट देखिएन । भारतीय भूमिमा बम फुटाउने व्यक्ति आतंककारी हुन्छ, तर आमजनता मार्ने नियतले बम पड्काउने कार्यलाई ऊ आतंककारी किन भनिरहेको छैन ? भारतले तर्राई र पहाडबीच गर्ने कुनै पनि असमान व्यवहारले उसलाई पनि त्यति नै घात गर्नेछ, जति नेपाललाई । तर्राई भारतका सिमानाको नजिक छ । तर्राईका मानिस र विहारका मानिसका बोलीचाली मिल्छन् होला । त्यसैले तर्राईलाई भारतले माया गर्नु अचम्म हुंदैन । तर पहाडका मानिसले भारतीय सेनामा आफ्नो बलिदान गरेका छन् । भारतले उसका दुश्मनसंग लड्दा पहाडका मानिसले आफ्ना रगत बगाएका छन् । के भारतको समृद्धि र सुरक्षामा नेपाली पहाडले भूमिका खेलेको छैन ? यस्तो अवस्थामा के भारतीय नागरिकहरू जो रक्सौलमा नाकाबन्दी गर्दैछन्, तिनीहरूलाई वास्तविकता बताउने दायित्व भारतीय सरकारको होइन ?

तर्राईका नागरिकप्रतिको भेदभावमा हिजोका नेपाल सरकारको जस्तै जिम्मेवारी भारतको पनि छ । तर्राईका मानिसलाई हिजो राजाको सेनाले प्रवेश दिएन । त्यसरी नै भारतीय गोर्खा ब्रिगेड र सीमा सुरक्षाबलमा भारतले पनि तर्राईका यादव, झा आदिलाई दिएन, किन ? तर्राईका नेताले के बुझ्नुपर्छ भने जबसम्म भारतले गोर्खा ब्रिगेडमा नेपालका पहाडेलाई मात्रै भर्ना दिन्छ, भारतका कारणले ‘पहाडे र मधेसी’ भन्ने विभाजन गरिरहन्छ । के यो तथ्यलाई मधेसी नेताहरूले महसुस गरेका छन् ? र वर्तमान समस्याको समाधान केवल कुनै एक पक्षले मात्रै गर्नसक्ने अवस्था छैन । र्सवप्रथम तर्राईको आन्दोलनले नेपालको विखण्डन होइन, सबल नागरिक र स्वायत्तताका लागि हो भन्ने कुरा देखाउनुपर्छ । यदि त्यसो हो भने पहाडको जीवनलाई नरक बनाउने नाकाबन्दीप्रति उहांहरू प्रस्ट हुनुपर्छ र यस्ता गैरजिम्मेवारीपूण हरकत रोक्नुपर्छ । सात दलले तर्राईलाई कतिवटा प्रदेशमा व्यवस्थित गर्ने हो, साझा कार्यक्रमका रूपमा घोषणा गर्नुपर्छ । स्वायत्तता लोकतान्त्रिक व्यवस्था हो, त्यो दिन्न भन्ने अभिव्यक्तिको कुनै तुक छैन ।

राष्ट्रले केही विषयमा प्रस्ट हुनुपर्छ । पहिलो कुरा एक मधेस एक प्रदेशले संघीय होइन, एकात्मक व्यवस्थाको प्रबर्द्धन गर्छ । तर्राईको बहुलतालाई सम्बोधन गर्ने संघीय व्यवस्थाको परिकल्पना सरकारले गर्नुपर्छ । संविधानसभा नेपालीको चाहना हो । त्यसैले त्यसलाई असर पार्ने जुनसुकै प्रत्यक्ष-अप्रत्यक्ष असरलाई रोक्नुपर्छ । मधेसको आन्दोलनको समर्थनका नाममा भइरहेको आपराधिक गतिविधिलाई रोक्न भारत सरकारसमक्ष स्पष्ट अडान राख्नुपर्छ ।

साभार: कान्तिपुर, २७ फेब्रुरि २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )