CANDOR

A worldview by a candid mind >>>

लेनिन होइनन् प्रचण्ड

Posted by Thaneshwar on फ्रेवुअरी 16, 2008

प्रदीप गिरी

कुनै पनि राजनीतिक दल स्वभावतः सत्तामा आफ्नो राजनीतिक एकाधिपत्य कायम गर्न चाहन्छन् । तर, यससम्बन्धी दुइटा प्रवृत्ति देखिन्छन् । प्रचलित ऐन-कानुन अर्न्तर्गत चुनाव लडेरै एकाधिपत्य कायम गर्ने एउटा तरिका हो । कानुन र व्यवस्थाको पर्वाह नगरी एकपल्ट सत्तामा आएपछि छाड्दै नछाड्ने अर्को । हिजो सोभियत सङ्घमा वा अहिले चीन, उत्तर कोरियादेखि क्युबासम्मका राष्ट्रहरूमा कम्युनिस्ट पार्टीएकपटक ठीक वा बेठीक जसरी सत्तामा पुगे पनि त्यसपछि सत्तामाथि एकाधिकार कायम राखिरहकै छन् । जहांजहां हटे, बलपूर्वक हटे । कम्युनिस्टले कहीं पनि स्वेच्छाले सत्ता छाडेनन् ।

अर्को शब्दमा भन्ने हो भने प्रत्येक लेनिनवादी-माओवादी पार्टी कुनै पद्धतिमार्फत सत्तामाथि एकाधिकार कायम गर्न चाहन्छन् । अन्य पार्टीहरुले चाहिं सत्तामा एकाधिकार कायम गर्न चाहंदाचाहंदै पनि चुनावमा हारे छाडिदिन्छु भन्ने वैकल्पिक बाटो राखेका हुन्छन् । दुनियांका सबै कम्युनिस्ट पार्टीले एउटै समस्या सफल-असफल व्यक्ति जे भए पनि सत्तामा पुगेपछि एकाधिकारलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता लिनु रह्यो ।

नेपालका सबै कम्युनिस्ट पार्टी नेकपा एमाले होस् वा नेकपा माओवादी सबैले उत्तर कोरिया, भियतनाम, चीन र क्युबालाई आदर्श मानेका छन् । माओवाद र लेनिनवादबाट धेरै टाढा गयो भनिएको भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीसमेत एकपटक पश्चिम बङ्गालमा सत्तामा पुगेपछि के-कस्ता हतकन्डाहरू गरेर सत्तामा टिकिरहेको छ, त्यसको अलग कथा-व्यथा छ । त्यसैले सत्तामा एकाधिकार चाहनु कम्युनिस्टहरूको अभीष्ट हो भन्ने स्वयम्सिद्ध छ । त्यस्तो हुनुका पछाडि दार्शनिक आधार पनि छ ।

कम्युनिस्टहरू दर्शनशास्त्रको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादलाई सत्य बुझ्ने एक मात्र साधन मान्छन् । अर्को शब्दमा भन्ने हो भने ऐतिहासिक भौतिकवाद/द्वन्द्वात्मक भौतिकवादको तार्किक प्रणाली नबुझेको मानिसले सत्य नै बुझेको हुंदैन भन्ने मार्क्सवादको आदर्श मान्यता हो । यस अर्थमा मार्क्सवादीले मात्रै सत्ताको सत्य बुझेका हुन्छन् । यो सत्य बुझिसकेपछि किन सत्ता छाड्नुपर्‍यो भन्ने मानसिकता उनीहरूमा देखिन्छ । त्यसैले प्रत्येक कम्युनिस्ट पार्टी विशेसगरी माओवादी पार्टले सत्तामाथि कब्जा जमाउनैपर्ने एउटा मानसिक र भावनात्मक आधार पनि छ ।

आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीमान्दामान्दै पनि संशोधनवादी बाटोमा गएका अत्यन्त प्रचुर उदाहरणहरू छन् । समाजवादी चिन्तनमा संशोधनवाद शब्दको उत्पत्ति एर्डवर्ड बर्नास्टिनका सम्बन्धमा भएको देखिन्छ । बर्नास्टिन र कार्ल काउत्स्की सोझै मार्क्स र एङ्गेल्सका उत्तराधिकारी थिए । मार्क्स र एङ्गेल्सले मर्ने बेलामा हाम्रा कागजपत्र उनीहरूले सम्पादन गरेपछि मात्रै छाप्नुसमेत भनेका थिए रे । मार्क्सका बांकी रहेका कृतिहरू तिनले नै छपाए । पछि गएर हिंसात्मक क्रान्तिप्रति उनीहरूको विश्वास हट्यो । तर, तिनको तर्क लेनिन र ट्रटस्कीलाई मान्य भएन । र, संशोधनवादीको आरोप लगाए । धेरै कम्युनिस्ट समूहहरू सत्य मेरै कुरो हो, सत्ता त मैले नै राम्रोसंग चलाउनुपर्ने हो तर अब केही लागेन भनेर यस्तो संशोधनवादतिर लाग्छन् । सत्ता कब्जा गर्ने बाटो ग्रहण गर्दैनन् । बरु, सत्ताकै एउटा हिस्सा भएर बस्छन् । जस्तो नेपालमा एमालेले यही बाटो लियो ।

व्यावहारकि रूपमा हेर्दा नेपालका माओवादीहरू पनि यही दोस्रो बाटोतर्फतीव्र गतिमा अगाडि बढिरहेका देखिन्छन् । लेनिन र माओको बाटोबाट क्रान्ति गर्न सकिंदैन भन्ने अनुभूति कमसेकम उनीहरूको नेतृत्वपङ्क्तिमा गहिरो किसिमले भएजस्तो बुझिन्छ । तैपनि उनीहरूले ‘सत्ता कब्जा गरेरै छाड्छौं, काठमाडौमा जनविद्रोह गर्र्छौं’ जस्ता क्रान्तिकारी कुरा भन्नचाहिं छाडेका छैनन् । दस्तावेजहरूमा व्रिद्रोहको कुरा पनि उल्लेख गररिहेकै छन् । त्यसबाट माओवादीको व्यवहार र अभिव्यक्ति, वचन र कर्मबीचको खाडल सांघुरिएको होइन, बढ्दै गएको देखिन्छ । यसबाट के सङ्केत पाइन्छ भने नेपालका माओवादीले कुनै विन्दुमा पुगेर सत्ता कब्जा गर्ने प्रयास गर्न सक्छन्, भलै त्यो टिक्नु-नटिक्नु अर्कै कुरा हो ।

प्रचण्डजीको ख्वाब

सैद्धान्तिक दृष्टिकोणले माओवादीले स्टालिनको असफलताबाट पाठ सिक्ने भनेका छन् । तर, लेनिनको असफलताको कुरा गरेका छैनन् । स्टालिन र लेनिनको असफलतालाई संगै जोडेका पनि छैनन् । स्टालिनको असफलताबाट पाठ सिक्ने कुराले हामी प्रसन्न भएका थियौं । तर, स्टालिनको असफलताबाट के पाठ लिने भन्ने कुरा उनीहरूले बुझेकै रहेनछन् । त्यसैले नचाहंदानचाहंदै पनि उनीहरू त्यही गल्ती दोहोर्‍याउने बाटोतिर जांदैछन् । लेनिनले जस्तै नेपालमा सहरिया जनवविद्रोह गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने भ्रम छाडेका छैनन् । तर, मुलुकको ठोस भौतिक र राजनीतिक परिवेश त्यसको पक्षमा छैन ।

कुनै पनि क्रान्ति सम्पादन गर्न केही पूर्वर्सतहरू चाहिन्छन् । कम्युनिस्ट क्रान्तिहरू ती मुलुकमा सफल भए जहां नागरकि समाजको सशक्त उपस्थिति थिएन । रुसमा बोल्सेभिक क्रान्ति हुंदा लेनिनभन्दा बलिया र मजबुत नेता जर्मनी र इटालीमा नभएका होइनन् । तर, लेनिन मात्र सफल भए । जर्मनी, इटालीलगायत पश्चिम युरोपका अन्य देशहरूमा कसैले चाहेर होइन, त्यहां विकसित भइसकेको नागरकि समाजका कारण कम्युनिस्ट क्रान्ति हुन नसकेको हो । व्यापारीकरण र औद्योगीकरणले गर्दा त्यहांको अर्थतन्त्रमा सशक्त नागरकि समाज उपस्थित भइसकेको थियो ।

अहिले नेपालको स्थिति त्यस्तै छ । ब्याङ्कको सेयर बढिरहेको छ, सुनको भाउ बढिरहेको छ, जग्गाको मोल अकासिएको छ, अन्य व्यापार चलिरहेको छ । घर निर्माण धमाधम भइरहेको छ । ठूल्ठूला मिडिया हाउसहरू जन्मेका छन् । शिक्षित वर्ग र उच्च चेतनास्तर भएको ठूलो जमात छ । यो सबैलाई बिर्सेर लेनिनले जस्तै यहां पनि रातारात साम्यवादी क्रान्ति गर्न सकिन्छ भन्ने ठान्नु ठोस भौतिक स्थितिलाई नबुझ्नु वा बेवास्ता गर्नु हो ।

अरू कुरामा पनि समानता छैन । रुसमा जनसङ्ख्याको हिसाबले मजदुरहरूको उपस्थिति धेरै थिएन । तर, पिर्टसवर्ग र मस्कोमा उनीहरूको उल्लेखनीय उपस्थिति थियो । त्यसैका आधारमा लेनिनहरूले पूरा सहर कब्जा गर्न सकेका थिए । त्यत्रो राज्यसत्तँको हस्तान्तरणमा त्यहां मुस्किलले सात-आठ जना मात्र मरेका थिए । तर, नेपालमा त्यस्तो सम्भावना छैन । यहां माओवादीहरूले मजदुरहरूको सङ्ख्यामा प्रभाव बढाउंदै लगेको देखिन्छ । तर, त्यो सय वर्षघिको रुसमा जस्तै सत्ता नै पल्टाउन सक्ने हैसियतमा देखिन्न ।

पहिलो महायुद्धका बेला जारका रुसी सेना निकै विचलित थिए । व्यापक रूपमा पलायनका घटना भएका थिए, तिनीहरू नै लेनिनका निम्ति ऊर्जा बन्न पुगे । तर, नेपालमा त्यस्तो अवस्था छैन । नेपाली सेनाले घमण्डका साथ भन्ने गरेको छ, “हामी हारेकै छैनौं ।” यो घमण्डमा कति वास्तविकता छ, थाहा छैन । तर, माओवादीले पनि सेनालाई जित्न नसकेको त हुंदै हो ।

सापेक्ष रूपमा हेर्दा आजको मितिसम्म माओवादीभन्दा नेपाली सेनाको स्थिति बलियो देखिन्छ । सेनासंग भएको बन्दुक र प्रविधिले गर्दा त्यसलाई बलियो भनेको होइन । नेपाली राजनीतिमा जुन वर्गको हालीमुहाली छ, सेनाको ज्यादा संवाद र अन्तरक्रिया त्यसैसंग भइरहेको छ । त्यो वर्ग नेकपा माओवादीको पक्षमा छैन ।

लेनिनले एउटा वैध निकायको माध्यमबाट सत्ता कब्जा गरेका थिए । त्यहां ‘सोभियत’का नाममा अनेक किसिमका शक्तिहरूलाई समेटेर समानान्तर सत्ता उभ्याइएको थियो । तिनै सोभियतहरूलाई कब्जा गर्दै लेनिन अगाडि बढे । र, अन्त्यमा बोल्सेभिक क्रान्तिमार्फ रुसको द्वैधसत्ता समाप्त पारे । हुनसक्छ, प्रचण्डले त्यो ख्वाब देखिरहनुभएको छ । तर, रुसमा जस्तो नेपालमा द्वैधसत्ताको उदय भएको छैन । त्यसको ‘ग्राफ’बारे उहांको के-कस्तो बुझाइ छ कुन्नि ?

रुसमा क्रान्ति गर्दा लेनिन भूमिगत थिए । ‘नोभेम्बर क्रान्ति’का दिनसम्म लेनिनको अवस्था दुइ वर्षघि प्रचण्डको जस्तो थियो । त्यतिखेर लेनिन को हुन् भन्ने कसैलाई थाहा थिएन । उनको रहस्यमयी र भूमिगत छवि पनि क्रान्ति सफल पार्ने एउटा आधार बन्न पुगेको थियो । तर, खुला राजनीतिमा आएपछि प्रचण्डको करिश्मा सिद्धियो । लेनिनमा जस्तो आकर्षण रहेन ।

तैपनि प्रचण्डले लोकतान्त्रिक अधिनायकत्वको सपना देखिरहनुभएको छ । मार्क्सवादीहरू र्सवहारा वर्गको अधिनायकत्व मान्छौं भन्छन् । त्यसो भन्नासाथ हामी तर्सन्छौं । त्यही भएकाले नै प्रचण्डजीले कृपापूर्वक र्सवहारावर्गको अधिनायकत्व नभनेर लोकतान्त्रिक अधिनायकत्व प्रयोग गर्नुभयो । तर, यी दुइटा कुरामा तात्त्विक फरक छैन ।

यस्तो पृष्ठभूमिमा यदि नेपालका माओवादीले पनि निकट भविष्यमा बलपूर्वक सत्ता कब्जाको कोसिस गरे भने त्यो अत्यन्तै क्षणिक हुनसक्छ । त्यो सत्ता एक-दुइ दिनभन्दा टिक्दैन । टिक्ने आधार पनि छैन । रुसमा राष्ट्रपति मिखाइल गोर्भाचोभले गरेको सुधारविरुद्ध गेन्नाडी येनायेभलगायत त्यहांको कम्युनिस्ट पार्टी कट्टरपन्थी नेताहरूले सन् १९९१ अगस्तमा ‘कू’को प्रयास गर्दा जसरी असफल भए, जनता सेनाको ट्याङ्कमाथि नै चढेर जसरी प्रतिकारमा ओर्लिए, नेपालका माओवादीहरू बलपूर्वक सत्ता कब्जा गर्ने बाटोमा गए भने त्यसभन्दा बेग्लै हालत हुने छैन ।

क्रान्तिको तेस्रो बाटो

माओवादीको भावी बाटो के हुनुपर्छ त – माओवादी सांच्चै सिर्जनशील पार्टीहो भने त्यसका नेताहरूले हाम्रा लक्ष्य तिनै छन् तर बाटो फेर्‍या भन्न सक्नुपर्छ । र, बाटो फेर्र्दै लैजान पनि सक्नुपर्छ । त्यो फेरिएको बाटोमा कार्यकर्तालाई हिंडाउन पनि सक्नुपर्छ । तर, समस्या के छ भने स्वयम् माओवादी नेताहरूलाई नै क्रान्तिको तेस्रो बाटो थाहा छैन । अहिलेसम्म उनीहरूले जानेका दुइटा बाटा मात्रै हुन्- बुलेट र ब्यालेट । या त गोली या भोट । भोटबाट जित्न नसके गोली चलाउने, गोली चल्न नसकेपछि भोटमा फर्किने ।

यथार्थ के हो भने दिर्घकालीन क्रान्तिको अर्को बाटो पनि छ । यो कुरा २०६२-६३ सालको जनआन्दोलनले पनि सावित गरसिकेको छ । त्यो महान् आन्दोलन न भोटबाट आएको थियो, न त गोलीबाट । त्यो मूलतः २० लाख जनताको प्रत्यक्ष सहभागिताबाट सम्भव भएको थियो । के अहिले माओवादीले त्यस्तो जनपरिचालन गर्नसक्छन् ? त्यस किसिमबाट जनतालाई सडकमा उतार्न के-के चाहिन्छ, के-के बुझ्नुपर्छ र के-के बुझाउनुपर्छ भन्ने उनीहरूलाई थाहा छैन । यो मोर्चामा उनीहरू हारसिकेका छन् । उद्देश्य नै हराइसकेपछि माओवादी वा अरू कसैले पनि आमजनतालाई परिचालन गर्नै सक्दैनन् ।

जनआन्दोलनका बेला राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको तर देशमा हिंसा र आतङ्क कम गर्न नसकेको परिस्थिति थियो । अनि प्रत्येक मानिसको अवेचतनमा दरबार हत्याकाण्डको विभीषिका थियो । अर्थात् दरबार हत्याकाण्डको विभीषिकाको प्रतिशोध, अहिंसा र प्रजातन्त्रको खोजीबाट आन्दोलनले प्रेरणा प्राप्त गरेको थियो । अब आउने क्रान्ति वा परविर्तनमा त्यस्तो ‘एजेन्डा’ कहां छ ? माओवादीले सांच्चै तेस्रो जनआन्दोलन वा क्रान्ति गर्न खोजेको हो भने पहिले त्यसका लागि चाहिने एजेन्डाहरूबारे उनीहरू स्वयम् प्रस्ट हुन जरुरी छ । तर, उनीहरूको कमजोरी नै के छ भने तिनले आजसम्म जनआन्दोलन गर्नसक्ने मुद्दा नै बनाउन सकेका छैनन् ।

एजेन्डाहरू नभएका वा सकिएकै चाहिं होइनन् । गरिबी, बेरोजगारी, विकृति, दुर्रदशा भएको मुलुकमा जनसरोकारका मुद्दाको कमी छैन । तर, त्यसका लागि परकिल्पना चाहिन्छ । अनि त्यो परकिल्पना व्यावहारकि पनि हुनुपर्छ । माओवादी नेताहरूको लेख पढ्दा, कुरा सुन्दा उनीहरूले यो बुझेजस्तो लाग्थ्यो । किनभने उनीहरू बारम्बार भन्थे- हामी सोभियत युनियनको असफलता दोहोर्‍याउन चाहंदैनौं, हामीले चीनको गल्ती बुझेका छौं, नेपालमा हुने एक्काइसौं शताब्दीको जनवादी क्रान्ति बेग्लै किसिमको हो आदि । उनीहरूले आफ्ना दस्तावेजहरूमा रोजा लक्जेमबर्ग र एन्टोनियो ग्राम्सीको नामसमेत उल्लेख गर्न थालेका थिए । तर, खुला वातावरणमा आएपछि यसलाई बिर्सिए । जुन जनआन्दोलनको प्रभावमा एउटा नयां क्रान्तिको परकिल्पना गरेर झन् बृहत्तर ऊर्जा जुटाउनुपथ्र्यो, त्यो काम उनीहरूबाट हुन सकेन ।

खुला राजनीतिमा आएपछि नेकपा माओवादीले कुनै नयां विचार अघि सारेन । त्यसो गर्न सकेको भए उसले काङ्ग्रेस, एमालेलाई हतप्रभ गराउन र रक्षात्मक स्थितिमा पुर्‍याउन सक्थ्यो । तर, उसले काङ्ग्रेस र एमालेसंग व्यवहार गर्दा उनीहरूकै शैलीमा सुविधापरक सत्ता बढी माग्ने, कर्मचारीहरूको भर्ती माग्ने, भत्ता लिनेबाहेक केही गर्न सकेन । त्यसैले चाहे पनि नचाहे पनि माओवादीहरू विस्तारै क्रान्तिकारीभन्दा संशोधनवादी कित्तामा गइरहेजस्तो अनुभूति हुन्छ । माओवादीको ऊर्जा निमिट्यान्न भइसकेको छैन । तर, उनीहरू एउटा अंध्यारो वैचारकि सुरुङमा चाहिं फसिसकेका छन् । जसलाई उनीहरूले संसदीय भास भन्ने गर्थे, त्यसैमा फसिसकेका छन् । संसद्लाई व्यवस्थापिका लेखेर मात्रै फरक पर्नेवाला छैन ।

माओवादीको वैकल्पिक रणनीति स्पष्ट छैन । तर, मलाई लाग्छ, वैकल्पिक रणनीति अपनाएर अगाडि बढ्न सम्भव छ । माओवादीले चुनाव हार्छु भनेर नडराए हुन्छ । एउटा राजनीतिक पार्टीको जीवन भनेको प्रचण्ड, शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको जस्तो क्षणिक होइन । चुनावमा भाग लिनु, हार्नु, फेर जित्नु पनि ठूलो कुरा होइन । त्यसैले सत्तामा गइहाल्नुपर्छ, आफ्नै पालामा जानुपर्छ भन्ने सोचेर काम छैन । समाजवादको यात्रा त हजार वर्षलामो पनि हुनसक्छ । लाखौं माइल टाढा पनि हुनसक्छ । तर, जस्तै लामो यात्रा पनि आखिर पहिलो डेगबाटै थालिन्छ । त्यो पहिलो डेग चाल्नुपर्‍यो । त्यस्तो भएको देखिएको छैन । त्यसैले नेकपा माओवादीले आफ्ना लक्ष्यलाई एकपटक पुनःपरिभाषित गर्नुपर्छ । र, भन्न सक्नुपर्छ: हामीले सोभियत रुस र चीनको असफलताबाट लिएको शिक्षा यो हो ।

साभार: नेपाल पाक्षिक, फेब्रुअरि २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )