CANDOR

A worldview by a candid mind >>>

वाईसीएलमाथि छापा र माओवादी उत्तेजना

Posted by Thaneshwar on फ्रेवुअरी 7, 2008

प्रहरीले माओवादी संगठन योङ कम्युनिस्ट लिग -वाईसीएल) को बालाजुस्थित केन्द्रमा तलासी लिएपछि राति अबेर राजधानीका सडक अवरोध र प्रदर्शन भएको छ । प्रहरीले तलासी लिएको विरोधमा माओवादी संगठन सडकमा उत्रिएको हो । यसबाट राज्यका कुनै पनि निकायले माओवादी गतिविधिका सम्बन्धमा निगरानी, छानबिन गर्न नसक्ने स्थिति देखिएको छ । सरकारमै रहेको दलको कुनै संगठनमा राज्य-प्रहरीले छानबिन गर्न नपाउने स्थिति पैदा हुनु आपत्तिजनक हो । बल र पहुंच भएकाहरूका निम्ति राज्यले कुनै कारबाही गर्न नपाउने र कानुन निमुखाहरूलाई मात्र हो भन्ने मानक यसले सिर्जना गरेको छ ।

माओवादीले समानान्तर सुरक्षा संयन्त्रलाई वाईसीएलको नाममा काठमाडौंमा स्थापना गरेको छ । यसमा संलग्न रहेका अधिकांश सदस्य माओवादी गुरिल्ला हुन् । माओवादीले कुनै पनि बेला देशलाई ठप्प पार्न र कम्युनिस्ट राज्य सत्ता स्थापना गर्ने अभीष्ट पूर्तिका निम्ति यो संगठन बनाएको देखिंदै आएको छ । आफ्ना लडाकु सेनालाई वाईसीएलका नाममा समानान्तर सुरक्षा संयन्त्रका रूपमा स्थापित गर्न खोजेअनुसार काठमाडौं उपत्यकामा मात्र वाईसीएलका २३ वटा इकाई सक्रिय छन् । माओवादीले देशैभरि यस्तो संयन्त्र बनाएको छ । यो संयन्त्रले आम

जनतामा आक्रमण, हस्तक्षेप र जबर्जस्ती चन्दा असुलीलाई यथावत् राखेको छ ।

वाईसीएलको जोर जबर्जस्तीलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा, साना उद्यमी र उद्योगपति तथा व्यवसायीले चन्दा बुझाउंदै आएका छन् । जबर्जस्ती असुलीका माध्यमबाट सक्रिय हुंदै आएको वाईसीएल उद्देश्य भनेको आफ्नो पार्टीलाई सत्ता कब्जा गर्न सघाउने हो । शान्ति प्रक्रियामा माओवादी सरिक भएको भए पनि यसले वाईसीएलजस्ता गतिविधिमार्फ शान्ति प्रक्रियाका सम्झौता र सहमति कार्यान्वयन गरेको छैन । यसबाहेक पनि वाईसीएल समाजलाई आफ्नो अनकूल अनुशासन र मर्यादामा राख्न उद्यत छ । यसलाई नियन्त्रण गर्ने क्षमता राज्यमा छैन । बालाजुको वाईसीएल कार्यालयमा तलासी लिनसमेत प्रहरीलाई घन्टौं लाग्नुका साथै सयौंको संख्यामा जनशक्ति परिचालन गर्नुपरेको छ । वाईसीएलको इकाईमा गएर छानबिन गर्नसमेत प्रहरीले नसक्ने अवस्था दुर्भाग्यपूर्ण हो ।

गृह प्रशासनको यो अक्षमताका कारण दण्डहीनता प्रोत्साहित भएको छ ।

वास्तवमा जिम्मेवार राजनीतिक शक्तिले राज्यको कुनै निकायले आफ्नाबारेमा शंका लागि छानबिन गर्न चाहेमा खुसीसाथ अवसर दिनुपर्छ । त्यसबाट मात्र कानुन व्यवस्था कायम राख्ने राज्यको दायित्व पूरा हुन सक्छ । बालाजु वाईसीएल कार्यालयमा प्रहरीले तलासी लिन खोजेको कारण पूरै खुलिसकेको छैन । यसमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री दिलेन्द्रप्रसाद बडुमाथि दार्चुलामा माओवादीले गरेको आक्रमण जोडिएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यी कार्यालयहरू हटाउन निर्देशन दिए पनि प्रहरीले यसलाई कार्यान्वयन गर्न सकेन । अन्त्यमा प्रहरी त्यत्तिकै फर्केको छ । माओवादीको जनवर्गीय संगठनका रूपमा रहेको भए पनि वाईसीएल यथार्थमा अर्धसैन्य बलका रूपमा रहेको छ । यसको सामूहिक बसोबास, तालिम तथा व्यायाम, यसको परिचालन हुने तरिका र काठमाडौं तथा देशका विभिन्न भागमा बितन्डा मच्चाउन यसले प्रयोग गर्ने विधिहरूले प्रस्ट पार्छ । यो सैन्य संरचना हो । शान्तिपूर्ण राजनीतिमा आएको भनिएको र सरकारमा समेत सामेल भएको पार्टी यस किसिमको संरचना सञ्चालन गर्न दिनु हुंदैन । सरकारले माओवादीका यी ब्यारेकहरू बन्द गराउनुपर्छ ।

साभार: कान्तिपुर, सम्पादकिय, ०७ फेब्रुअरी २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )