CANDOR

A worldview by a candid mind >>>

नेपाली कांग्रेस र अशान्त मधेस

Posted by Thaneshwar on जनवरी 28, 2008

प्रदीप गिरी

 

सात राजनीतिक दलले मुलुकका विभिन्न भागमा आमसभा गर्ने जमर्को गर्दैछन् । चैतमा हुने भनिएको संविधानसभाको तयारी क्रममा यी आमसभा आयोजित गरिएका हुन् । आमसभामा आगामी संविधानसभा चुनावको आवश्यकता र निहितार्थबारे सन्देश प्रवाहित गर्ने लक्ष्य राखिएको छ । यो आवश्यकमात्र होइन, वाञ्छनीयसमेत छ। काठमाडौं, विराटनगर र जनकपुरमा सभा भइसकेका छन् । यस्ता सभाहरूको आयोजनासंगै दलहरूले आ-आफ्नो चुनावी अभियानसमेत प्रारम्भ गरेका छन् । यी सभा र अभियानको ‘मधेसवादी’ समूहले प्रतिकार गर्दैछन् । मधेस अशान्त छ । त्यतिमात्र होइन, मधेसवादीको जोर चल्ने हो भने आजको यस्तै अवस्थामा संविधानसभाको चुनाव हुनदिने र स्वीकार गर्ने उनको मनस्थिति छैन । निश्चय नै यो एक दूर्भाग्यपूर्ण वस्तुस्थिति हो ।नेपालमा यस समय सत्ता र र्सार्वभौमिकताको मुहानको रूपमा सात दलबाट मनोनीत विधायिका-संसद प्रतिस्थापित भएको छ । यस विधायिकाको संरचना जनआन्दोलन- २०६३ को भावनाअनुरूप छैन । फेरि एउटा मनोनीत संस्थाजस्तै राम्रो भए पनि त्यसले निर्वाचित निकायको ठाउं लिन सक्दैन । स्वयम् मधेसको हकहितको दृष्टिले पनि मनोनीतभन्दा निर्वाचित निकाय हरेक दृष्टिले सकारात्मक संस्था हुनेछ । त्यस दृष्टिले मधेसले सात दलसित अविलम्ब परिणाममुखी वार्ता गर्नुपर्ने हो । खासगरी यी पंक्तिहरू लेखिंदाताका देखिएका आस्था, हिंसा, दबाब र तोडफोडको राजनीतिबाट मधेसवादका जिम्मेवार नेताले आफूलाई तुरुन्त पृथक देखाउनुपर्छ । त्यतिमात्र होइन, सबै किसिमका हिंसात्मक र अराजनीतिक गतिविधिको मधेसी नेतृत्वले भर्त्सना गर्नुपर्छ ।

यसको अर्थ नेपाली राज्य र सरकारको जिम्मेदारी छैन भन्ने होइन । यस्तो परिस्थितिमा राज्य र सरकारको जिम्मेवारी गुरुत्तर हुन जान्छ । आज नेपाली राज्य र सरकारले मधेसको असन्तोष र विद्रोहलाई सम्बोधन गर्न यथोचित महत्त्व दिएको छैन । अरू त अरू, मधेसले उठाएका मागहरू पूरा भएका छन् भनेर बिहानै-बेलुकै भन्दाभन्दै पनि भएको कामको यथोचित प्रचार-प्रसार गरेको छैन । सात दलका अधिकांश नेताहरूले मधेसको असन्तोष र विद्रोह मूलतः कानुन र व्यवस्थाको प्रश्न हो भन्ने ठहर गरेको देखिन्छ । यो पूरै सत्य होइन । मधेसमा कानुन र व्यवस्थाको प्रश्न अवश्य छ । तर त्यो मधेसमा मात्र छैन । सिङ्गो देश आज अराजक र अव्यवस्थित छ । प्रत्येक नेपाली आतंकित छ । राजधानी काठमाडौंसमेत भयदोहन र आतंकबाट मुक्त छैन । तर्साइएका र आतंकित बनाइएका नागरिकहरू पुलिस वा प्रेसमा पनि जान चाहांदैन । ज्यान जाने डरले उनीहरू चुपचाप आतंकवादीहरूलाई चन्दा दिन्छन् ।

मधेसमा त्यतिमात्र छैन, अर्थोक पनि छ । नेपाली राज्यले मधेसका आठ जिल्लामा सुरक्षानिम्ति विशेष दल खटाउनु अपमानजनकमात्र होइन, हास्यास्पदसमेत छ । राजधानी काठमाडौंसमेतको अवस्था के छ – त्यो भनेर साध्य छैन । राज्यको अस्तित्व रहंदासम्म सरकारले शान्तिसुरक्षाको जिम्मेदारी लिनैपर्छ । होइन भने सरकारले आम जनतासित त्याग र तिरोको अपेक्षा किन राख्ने – नेपाली राज्य र सरकार यो कुरा बुझन चाहंदैन । हाम्रा रामायण र महाभारतमा वणिर्त रावण, ‘कुम्भकर्ण र  धृतराष्ट्र’ यस मुलुकमा आज सत्तासीन भएका बुझिन्छन् ।

मधेसको असन्तोष र व्रिद्रोह सुरक्षाको त्यस समस्यामा मात्र सीमित छैन । मधेसको संर्घष मूलतः अस्मिता -आइडेन्टिट) को संर्घष हो । राजनीतिक विज्ञानका परम्परागत शास्त्रमा यस अवधारणाको चर्चा छैन । बीसौं शताब्दीमा आएर यस समस्याले राजनीतिक संर्घषमा केन्द्रीयता प्राप्त गरेको छ । यस प्राप्तिका ऐतिहासिक एवं सांस्कृतिक कारण छन् । विश्व आज कोल्टे फेर्दैछ । संसारका समस्त शोषित र उत्पीडित, जाति र जनजाति जाग्रत भएका छन् । यो एकदिनमा भएको होइन । हजारौं वर्षो मनुष्यमात्रको संर्घषको पृष्ठभूमि यस जागरणले उत्तराधिकारमा प्राप्त गरेको छ । संस्कृति, भाषा, लिङ्ग, जाति र जातीयताका प्रश्नले राजनीतिलाई जरैदेखि हल्लाएको छ । समाजवादले मात्र वर्गको कुरा गरेको थियो । वर्ग र्सवाधिक महत्त्वपूण कुरा हो । खासमा वर्ग नै सामाजिक संर्घषको केन्द्रीय प्रश्न हो । जाति, भाषा र लिङ्गभेद समेतका सवालहरू कुनै-कुनै प्रकारले वर्ग सत्यसगं गांसिएका छन् । तर १८ वर्षउमेरको तन्नेरीले पहिलो प्रेमको आवेशमा दाल, भात र डुकुको समस्यालाई लात मारेझैं अस्मिताको प्रश्नले आज वर्गलाई लात मारेको छ । अफ्गानिस्तान, श्रीलङ्का र पाकिस्तान लगायत धेरै देशमा यस्तै भएको छ । नेपालमा पनि यस्तै भइरहेको छ । मधेसमा वर्गभेद छ । जातिभेद पनि छ । तर त्यो अहिले गौण भएको छ । सिङ्गो मधेस यस समय अस्मिताका प्रश्नबाट उद्वेलित र आक्रोशित छ ।

आज मधेस समस्यालाई बुझन पाकिस्तान र बंगलादेशको उदयको पृष्ठभूमिले हामीलाई एक हदसम्म मद्दत गर्नेछ । लामो समयदेखि एकीकृत र अखण्ड भारतबाट पहिले पाकिस्तान छुट्टियो । फेरि पाकिस्तानबाट बंगलादेश टुक्रियो । यी घटनाक्रमका कतिपय तुलनात्मक र सान्दर्भिक प्रसङ्ग अवश्य छन् । पाकिस्तानका निर्माता मोहम्मद अली जिन्ना आजको दक्षिण एसियामा पाकिस्तान बाहिर सुपरिचित छैनन् । यताका दिनमा उनको व्यक्तित्व र विचारबारे अनेक अध्ययन प्रकाशित भएका छन् । हिन्दुस्तानका लेखक र विचारकले कलम चलाएका छन् । जिन्नाका धेरै कमजोरीहरू थिए । तर उनी व्यक्तिगत जीवनमा संकिर्ण र साम्प्रदायिक थिएनन् । अत्यन्त फरक धरातलमा एउटा सवालमा गान्धी र जिन्ना सहमत थिए । जिन्ना मुस्लिम अस्मिता उपयोग गरेर अखण्ड भारतको प्रधानमन्त्री बन्न चाहन्थे । गान्धीलाई त्यसमा समस्या थिएन । तर नेहरू र पटेललाई थियो । आखिर त्यसैबाट पाकिस्तानको जन्म भयो भन्ने अनेक विद्वानको ठहर छ । पाकिस्तानमा जिन्नाको दुःखद एवं त्रासद अन्त्य भयो । पाकिस्तानको निर्माण मूलतः जिन्ना र नेहरूको सत्ता संर्घषको परिणाम थियो । त्यहां गान्धी निरपेक्ष थिए । उनले हस्तक्षेप गर्न नसक्नु उनको र्सवाधिक ठूलो कमजोरी थियो । उनले यस कमजोरीको सहर्षमूल्य तिरे । उनी भारत-पाकिस्तान मित्रता स्थापना गर्ने अभियानमा सहिद भए ।

अब पुस्तकका कुरा छोडिदिउं । अचेल पुस्तक पढ्ने चलन हराएको छ । तर रिचर्ड अटेनबारोले बनाएको ‘गान्धी’ सिनेमा हेर्नेले यस तथ्यको प्रारम्भिक जानकारी पाउनेछ । कालान्तरमा पाकिस्तानबाट फेरि बंगलादेश टुक्रियो । त्यसको आफ्नै पृष्ठभूमि थियो । कुनै समय उर्दु भाषा र मुस्लिम संस्कृतिले पाकिस्तानको वीजारोपण गर्‍यो । यसपटक भने बंगागी भाषा र संस्कृतिले नया“ राष्ट्र बनायो । पाकिस्तानमा दबदबा राख्ने पंजाबी नेतृत्वको थिचोमिचो बंगलादेशको अभ्युदयनिम्ति उत्प्रेरक तत्त्व भयो ।

नेपालमा आज त्यस्तो डरलाग्दो स्थिति कदापि छैन । परिस्थिति नियन्त्रणबाट बाहिर गइसकेको छैन । खासगरेर महन्थ ठाकुर, हृदयेश त्रिपाठी र महेन्द्र यादव प्रभृतिले तर्राई-मधेस समूह गठन गरेपछि परिस्थितिमा गुणात्मक र सकारात्मक परिवर्तन आउने संकेत मिलेको छ । यी नेताहरू नेपाली राजनीतिका परिचित अनुहार हुन् । यिनीहरूको सोचाइ र कार्यक्रमहरूमा राजनीतिक स्पष्टता छ । यिनीहरूको समूहले मधेसमा छताछुल्ल भएर बढेको विद्रोह भावलाई एकत्रित अभिव्यक्ति दिने कोसिस गरेका छन् । त्यसले दिर्घकालीन दृष्टिकोणमा मुलुकको भलाइ गर्नेछ । तत्कालीन दृष्टिले राजनीति दलहरूको शक्ति सन्तुलन अवश्य खजमजिएला । अन्ततः सब ठीक हुनेछ । मधेसमा उदित र उपस्थित भएको यस नयां शक्तिले हिंसा, अराजकता र उग्रतालाई प्रोत्साहन गर्ने छैन भन्ने आशा राख्न सकिन्छ ।

तर यी पंक्ति लेखिंदाताका मधेसमा हिंसा र उछृङखलताका घटना भइरहेका छन् । केही समयअघि शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसंग एक सहमति गर्नुभएको थियो । रामचन्द्रजीले यो पंक्तिकारलाई भेट्दा मधेसको सबै माग सम्बोधन भइसकेको बारम्बार भन्नुभएको छ । उता उपेन्द्र यादव लगायत मधेसी नेता आफूसंग भएको सहमतिसमेत क्रियान्वयन नभएको दाबा गर्दैछन् । उनीहरूका थपिंदै गएका अतिरिक्त मागहरूको कुरा अर्कै हो । त्यता अहिले नजाउ“ । तर प्रश्न छ, त्यस सहमतिबारे सरकारले के गरेको हो त – यसबारे राज्य र सरकार विशेष गरेर नेपाली कांग्रेसले आफ्नो पक्ष जोडदार रूपले राख्नुपर्छ ।

नेपाली कांग्रेस र नेकपा -एमाले) ले एउटा कुरा बुझ्नैपर्छ । यी दुवै पार्टी आज पनि मधेसी नेता र कार्यकर्ताको प्रचण्ड र विशाल उपस्थिति छ । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र माधव नेपाल मधेसबाट चुनाव लड्छन् र जित्छन् पनि । तर त्यति हुंदैमा उनीहरूले आफूलाई मधेसका एकमात्र आधिकारिक शक्तिका रूपमा सोच्नु हुंदैन । नेहरू र मौलाना अब्दुल कलामको नेतृत्वमा तत्कालीन भारतीय राष्ट्रिय कांग्रेसले यही गल्ती गरेको थियो । मौलाना अब्दुल कलाम अजादबाहेक पनि तिनताका कांग्रेसमा खान अब्दुल गफ्फार, रफी अहम्मद किदवाई र डा सैयद महमुद लगायत अरू पनि मुस्लिम नेता थिए । राष्ट्रिय कांग्रेस भने आफ्नो मुस्लिम नेतृत्व र विशाल सदस्य संख्याको आधारमा मुस्लिम लिगको आधिकारिकतालाई चुनौती दि“दै गयो । स्थिति बिग्रंदै गयो । आखिर पाकिस्तान बन्यो । नेपालमा कांग्रेसले यस्तो गल्ती गर्नु हुंदैन । सबै मधेसी नेतृत्वसंग सायास र ससम्मान वार्ता र सम्मान गर्न आफैं अघि र्सर्नुपर्छ । त्यतिमात्र होइन, जो गरिएको वाचा र लिखित प्रतिबद्धताप्रति इमानदारिता देखाउनुपर्छ । वाचा पूरा गरेरमात्र पनि हुंदैन, वाचा पूरा भएको अनुभूति सिंगो मधेसले गर्न पाउनुपर्छ । रामचन्द्र पौडेलका कथनअनुसार उहांसंग भएको सहमति पूरा भइसकेको छ । उपेन्द्र यादव ‘माग पूरा भएन’ भन्नुहुन्छ । यी दुवै नेताले के भन्छन् भन्ने कुरा महत्त्वपूण होइन । खासमा मधेसले आज के बुझेको छ, त्यो ज्यादा महत्त्वपूण कुरा हो । मधेस घुम्न जांदा त्यहां वाचा पूरा भएको सन्देश प्रवाहित भएको पाइंदैन । यो चिन्ताजनक कुरो हो ।

रामचन्द्र पौडेलजी तनहु“मा जन्मेर हुर्केका एक इमानदार कांग्रेस हुनुहुन्छ । मधेसबारे उहांलाई धेरै थाहा नहुनु स्वाभाविक हो । मधेसमा एउटा कथा विशेष प्रचलित छ । मधेसमा एउटी अविजालकी बाठी सासू रहिछन् । परिबन्दले उनका कुनै ज्वांइ अन्धा परेछन् । हेपिने नै भए । खान बस्दा उनका भागमा दिने घिउ पुगेनछ । आंखा नभएका ज्वांइले के बुझ्लान् र भनेर सासूले भागमा कुनै तातो झोल हालेर छक्याउन खोजिछन् । ज्वांइले घिउको स्वाद भेटेनन् । भोलिपल्ट पनि खान बसेछन् । सासूले फेरि तातो झोल झिकेर घिउ हाल्ने नाटक गरिछन् । अब भने ज्वाइंले बोलेछन् । ‘झ्वांइ नै नगरी घिउ हो भन्ने मैले कसरी थाहा पाउने -‘ मिथिला प्रदेशमा घिउ झ्वांइ गरेकोलाई ‘गडगड्याउनु’ भन्छन् । ज्वाइंले भनेछन्, ‘गडगडेतै तब बुझ्बै † आजको मधेसको यस्तै अवस्था छ ।

सयकडौं वर्षराज्यसत्ताबाट असम्पृक्त मधेसीहरूको आंखामा पट्टी बा“धिएको छ । उनीहरू धेरै चिप्लाचामरा कुराहरू पनि पत्याउंदैनन् । गडगड्याउने घिउ नहाली उनीहरू बुझनेवाला छैनन् । मन्त्रीहरूको भाषणको असर उनीहरूमाथि परेको छैन । पस्केको घिउमा स्वाद भेटिएको छैन । मधेस उधारो कुरा पत्याउन अब तयार छैन । घिउले गडगड्याउनैपर्‍यो । नेपाली कांग्रेसले यति गरेर देखाइदियो भने आज पनि उसको मुख्य प्रभावक्षेत्र मधेस नै रहनेछ । आत्तिने कारण छैन । महन्थ ठाकुर वा हृदयेश त्रिपाठीलाई सराप्ने खांचो छैन । वश नेपाली कांग्रेसले गरें भनेको काम गरेको भएको प्रमाणित गर्नुपर्छ । होइन भने मधेसको राजनीतिले कस्तो कोल्टे फेर्ने हो, अहिले भने यसै भन्न सकिने अवस्था छैन

साभार: कान्तिपुर, २८ डिसेम्बर २००८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: